काठमाण्डौ –
बिचौलिया दीपक भट्टसँग मिलेर नीतिगत अनियमिततामा जोडिँदै आएको शंकर ग्रुपमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेसँगै शंकर अग्रवाल पक्राउ परेका छन् ।
शंकर ग्रुपका संस्थापक तथा अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको हो ।
विभागले उनलाई शुक्रबार कार्यालयमै बोलाएर सोधपुछ गरेको थियो । बयान नसकिएका कारण उनलाई ललितपुर प्रहरी हिरासतमा पठाइएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी गौतम मिश्रले भने विस्तृत विवरण आइनसकेको बताए । ‘विभागले हामीलाई थुनामा राख्न पठाएको हो । अनुसन्धानको विषयमा विस्तृत जानकारी हामीसँग छैन,’ उनले भने ।
विभागले शंकर ग्रुपसँग निकट रहेका बिचौलिया दीपक भट्टलाई बिहीबार पक्राउ गरेको थियो । उनी विभिन्न कम्पनीका रकम दुरुपयोगमा संलग्न रहेको आरोपमा छानबिनमा छन् ।
भट्टले विगतमा शंकर ग्रुपलाई फाइदा हुने गरी विभिन्न नीतिगत निर्णय गराउन सफल भएको बताइएको छ । शंकर ग्रुपको मुख्य लगानीमा रहेको हिमालयन रि–इन्स्योरेन्समा ठुलो भ्रष्टाचारको आरोप लाग्दै आएको छ ।
रकम अनियमितताको विषयमा विभागले पछिल्लो समय विस्तृत अनुसन्धान गरेको थियो । विभागले थुनामै राखेर मुद्दा दायर गर्ने तयारी गरेको छ ।