आज मितिः २०८२ माघ १८ गते

रत्ननगर महोत्सवको तयारी तीब्र : मह र रोजगार मेलालाई प्राथमिकता 

रत्ननगर –

आगामी पौष २५ गतेदेखि टिकौली चौरमा सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणमा महको उत्पादन र बजारीकरण तथा रोजगारी र्सिजनालाई प्राथमिकतामा राखिएको छ । यस पटकको मुख्य आर्कषणको रुपमा रामजानकी मन्दिर आकृतिमा निर्माण गरिएको गेट हुने छ ।

‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा महोत्सव हुन लागेको हो । रत्ननगर नगरपालिकाको संरक्षकत्वमा हुने यो महोत्सवले कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

यस पटक महोत्सवमा दोस्रो चितवन मह उत्सव आयोजना गरिको संघका अध्यक्ष शंकर गिरीले बताए । महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिने भन्दै उनले मह उत्सवले मौरी पालन र महजन्य उत्पादनलाई प्रोत्साहन गर्ने बताए ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष गिरीले टिकौलीचौरलाई प्रर्दशनी मैदानको रुपमा विकास गर्न सरकारसंग माग गरेका छन् । कानुनी प्रक्रिया पुरा गरी निर्वाद रुपमा मेला, महोत्सव गर्न सकिने गरी टिकौली चौरलाई प्रर्दशनी मैदानको रुपका विकास गर्नु पर्ने उनको भनाई छ ।

युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर पहिचान गर्न रोजगार मेला २०८२ पनि सञ्चालन हुनेछ, जसले रोजगार खोज्ने युवा र रोजगारदाताबीच सेतुको काम गर्ने गिरीले बताए । विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करण चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ४५० स्टलहरू रहनेछन् । महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी हुने खनालले जानकारी दिए । महोत्सवको प्रवेशद्वारमा पहिलो पटक जनकपुरको रामजानकी मन्दिरको आकृति सहितको भव्य गेट निर्माण गरिने भएको छ । थारू, मगर, गुरुङ, दराई, माझी, तामाङ र कुमाल जातिका परम्परागत संस्कृति घरहरू बनाइएका छन्, जसले ‘बिर्सनु हुन्न बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ नारा सहित रैथाने बालीको संरक्षण र प्रवद्र्धन गरिने छ ।

महोत्सवमा बालबालिकाका लागि फनपार्क, विभिन्न जातीय खाना र परिकार सहितको ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ पौष २९ देखि माघ ४ सम्म सौराहाचोक बसपार्कमा गरिने संघका पूर्वअध्यक्ष तथा खाना महोत्सवका संयोजक ज्ञानबहादुर विसुरालले बताए । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणमा जोड दिइनेछ । महिलाहरू, फरक क्षमता भएका व्यक्ति र स्थानीय कृषकका उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराइने छ भने कृषि तथा पशुपालनसम्बन्धी कार्यशाला र गोष्ठीहरू सञ्चालन हुने संघका महासचिव उपेन्द्रशर्मा आचार्यले बताए । मनोरञ्जनतर्फ राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति, आदिवासी जनजातिका भेषभुषा र नृत्य प्रदर्शन रहनेछन् । उद्घाटनका दिन विभिन्न संघ–संस्थाको सहभागितामा बाजा र झाँकीसहितको शोभायात्रा निकालिने छ । सुरक्षा व्यवस्थाका लागि अत्याधुनिक सिसिटिभी र ५ करोडको बीमा व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले ८७ प्रतिशत रोजगारी र्सिजना गरेको निजी क्षेत्रको लगानी सुरक्षामा राज्य जिम्मेवार हुनुपर्ने बताए । आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको रत्ननगर महोत्सवको प्रर्वद्धन राज्यले गर्नुपर्ने उनको भनाई छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.