दुबई-
चर्चित गीत ‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ बोलको गीतका सर्जक तथा गायक प्रकाश पौडेलको नयाँ भिडियो आगामी शुक्रबार सार्वजनिक हुँदैछ।
पौडेलको रमाइलो जनराको गीत ‘बुढा बुढी’को म्युजिक भिडियो आउँदो शुक्रबार सार्वजनिक हुने भएको हो ।
उनको पहिलो एल्बम थ्रि मच देखि अहिलेसम्म ६ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । ‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ गीतका अतिरिक्त ‘कसैलाई नभन्नु ल, कानेखुसी, डक्टर साब भिटामिन लेख्दिनु, घाँस काट्ने खुर्केर, हास्ने गीत हाहाहा, सलाम वालेकुम, भुडेंभुडी, भोली छुट्टी’ लगायतका चर्चित एवं लोकप्रिय गीत गाएका छन्। यी गीतहरू नेपाल, खाडी र मलेसियामा बढी चलेको पाइन्छ ।
पछिल्लो समय चर्चित ज्योतिषीको समेत परिचय बनाएका गायक पौडेलले लामो समय पछि सांगीतिक क्षेत्रमा कमब्याक गरेको बताएका छन् । ‘वित्तिय क्षेत्रमा जागिर, त्यसपछिको समयमा ज्योतिष विद्याको अध्ययन र अभ्यासले गर्दा संगीतलाई समय दिन पाइरहेको थिइन्’ ज्योतिष गायक पौडेलले भनें–‘यो गीतपछि केही ग्याप गर्दै संगीत क्षेत्रलाई पनि समय दिने योजना बनाएको छु ।’
म्युजिक भिडियोमा मोडल साक्षी लम्साल र कमल सिंहका साथमा गायक प्रकाश पौडेल, सानु सत्याल, कुमार लम्साल, सुधिर सापकोटा लगायतले अभिनय गरेका छन् ।
गीत ‘बुढा बुढी’को शब्द र स्वर गायक पौडेलको हो भने संगीत दीपराज नेयोङहाङले गरेका छन् । सुरज श्रेष्ठले एरेन्ज गरेको यो गीतको म्युजिक भिडियो उत्सव दाहालले छायाकंन गरेका हुन् । यस्तै, भिडियो सम्पादन विकास दाहालले गरेका छन् ।
टिकटकमा रमाउनेहरुलाई लक्षित गर्दै बुढा बुढी गीत सृजना गरेको गायक पौडेलले उद्धार न्यूजलाई बताए ।