चितवन
चितवन सेवा समाजको आयोजनामा जिल्ला सहकारी संघ, चितवनमा मिति २०८२ साल श्रावण २५ गते, आइतबार खुला तीज गीत प्रतियोगिता सम्पन्न हुने भएको छ।
उक्त कार्यक्रम महिला उपाध्यक्ष प्रभा शर्मा पौडेलको संयोजनमा आयोजना गरिनेछ। यस प्रतियोगितामा विभिन्न क्षेत्रबाट आमासमूहहरू तथा संघ–संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्। तीज प्रतियोगितामा प्रवास र प्रवासीको भावनामा सम्बन्धित हुनु पर्ने रहेको जानकारी कार्यक्रम संयोजक पौडेलले दिनुभयो ।
तीज पर्व नेपाली महिलाहरूको सांस्कृतिक पहिचान, आत्मीयता र सामूहिक एकताको प्रतीक हो। यस प्रतियोगिताले लोकसंस्कृति संरक्षण तथा महिलाको सशक्त सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। संयोजक पौडेलले जानकारी दिनुभए अनुसार, प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने सहभागीहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। चितवन सेवा समाजद्वारा आयोजित यो कार्यक्रमले तीज पर्वको सांस्कृतिक महत्वलाई अझ व्यापक बनाउने विश्वास गरिएको छ।