आज मितिः २०८३ बैशाख १० गते

उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउनुपर्नेमा जोड

काठमाडौं-

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यका सङ्घीय राजधानी एवं सांस्कृतिक विविधता र सम्पन्नतायुक्त क्षेत्र भएकाले यहाँको यातायात व्यवस्थापनलाई सहज र सुविधायुक्त बनाउनुपर्नेमा जोड दिएका छन्।

 

आज ललितपुरमा आयोजित काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कनसम्बन्धी सरोकार भएकाहरूको बैठकलाई सम्बोधन गर्दै उनले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समेटिएको काठमाडौँ उपत्यका नेपालको आर्थिक, सांस्कृतिक र प्रशासनिक गतिविधिको केन्द्र रहे पनि यहाँको यातायात प्रणाली अव्यवस्थित रहेको बताए। उपत्यकाको यातायात प्रणालीलाई व्यवस्थित बनाउन निर्णायक कदम चाल्नुपर्ने उनको भनाइ छ।

 

सन् २०१२ मा बनेको र सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो गुरुयोजनायता यातायातको अवस्था बिग्रिनुका साथै बढ्दो सवारीसाधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण ट्राफिक जाम, ढिलाइ र वायुप्रदूषण बढेको मन्त्री दाहालले उल्लेख गरे। सोही कारणले यातायातलाई मात्र नभई आर्थिक उत्पादकत्व र जनस्वास्थ्यमा समेत नकारात्मक प्रभाव पारिरहेकाले यसको व्यवस्थापनमा ढिलाइ गर्न नहुने उनले धारणा राखे।

 

उनले भने, “यदि हामीले अहिले पनि निर्णायक कदम नचाल्ने हो भने, अवस्था थप बिग्रनेछ, जसले उपत्यकाको वातावरण प्रतिकूल हुने र दिगोपनलाई खतरामा पार्नेछ। यो परियोजनामार्फ शीघ्र र दीर्घकालीन समाधान खोज्ने हाम्रो अन्तिम अवसर हुनसक्छ।”

 

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले उपत्यकाको यातायात व्यवस्थापनका लागि सहयोग र समन्वयका लागि मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाए। भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले काठमाडौँ उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात प्रणालीको व्यवस्थापन गर्दै बहुपक्षीय समन्वयको आवश्यकता औँल्याए। कार्यक्रममा सोकार भएका निकायका विज्ञहरूले अवधारणापत्र प्रस्तुत गरेका थिए। रासस

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.