आज मितिः २०८३ बैशाख १० गते

आज नाग पञ्चमी पर्व, परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदै

काठमाडौं-

नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ।

घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो।

बराहपुराणमा उल्लेख भएअनुसार साउन शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ। नागलाई विष्णु र शिवका रूपमा मान्ने चलन वैदिक सनातनकालदेखि छ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने परम्परा छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ। आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ।

आज काठमाण्डौको नाग पोखरी र टौदह, भक्तपुरको सिद्ध पोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नाग जातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ। नाग पञ्चमीपछि चाडबाडको याम सुरु हुन्छ।

नागपोखरी, टौदह र सिद्धपोखरीमा मेला

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.