कास्कि-
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड क्षेत्रमा सञ्चालनमा रहेका स्पा वा मसाज सेन्टरहरूबाट आठ बालिकाको उद्धार गरिएको छ ।
मसाज सेन्टरहरूमा १८ वर्षमुनिका बालबालिकाहरूलाई काममा लगाउन नपाइने भए पनि सञ्चालकले त्यसको अटेर गर्दै उनीहरूलाई काममा लगाउने गरेका थिए।
लेकसाइडस्थित स्पा सेन्टरहरूमा बालिकाहरूलाई काममा लगाइएको भन्ने गोप्य सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबाट अनुगमनका लागि खटिएको संयुक्त टोलीले १८ वर्षमुनिका आठ बालिकाहरूको उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार संयुक्त टोलीले पर्सल्यान स्पाबाट दुई, ताराहिल लज स्पा एन्ड ब्युटी केयरबाट दुई र इभेन्डर ब्युटी एन्ड स्पाबाट चार गरी आठजना बालिकाहरूको उद्धार गरेको हो।