काठमाडौं, जेठ १५ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई नवीन राजनीतिक सम्झौतामा आउन आग्रह गर्दै चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेका छन्, “अब नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ। हैन भने भाग्नलाई हेलिकप्टर तयार गर्नु।”
शाहीले वर्तमान व्यवस्थालाई अस्वीकार गर्दै राजा सहितको प्रजातन्त्र पुनःस्थापना गर्नुपर्ने बताएका छन्। उनले चार प्रमुख बुँदामा नयाँ राजनीतिक सहमति आवश्यक रहेको उल्लेख गरेका छन्: राजा सहितको प्रजातन्त्रको पुनःस्थापना, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, संघीय प्रदेश संरचनाको खारेजी, र हिन्दु, बुद्ध, किराँत सहितको वैदिक सनातन हिन्दु राष्ट्र घोषणाको माग।उनले चेतावनी दिँदै थप भने, “यदि प्रधानमन्त्रीले यी मागहरू स्वीकार नगरे, जनता आफैं सडकबाटै तपाईं र तपाईंको व्यवस्थालाई फालिदिनेछन्।”
शाहीको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा र बहसको विषय बनेको छ।