आज मितिः २०८३ बैशाख ९ गते

पूर्व सांसद गंगा चौधरी राजसंस्थाको समर्थनमा सक्रिय

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) बाट समानुपातिक प्रणालीअन्तर्गत सांसद बनेकी गंगा चौधरी  हाल राजसंस्थाको पुनर्स्थापनाको पक्षमा खुलेर लागेकी छन्। २०७९ सालको निर्वाचनमा दाङ क्षेत्र नं. १ बाट उम्मेदवारी दिन खोज्दा टिकट नपाएपछि उनी एमालेबाट अलग भइन् र स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडेकी थिइन्। तर, चुनावमा पराजित भएपछि उनले एमाले पार्टी परित्याग गरिन् र राजसंस्थाको समर्थनमा सक्रिय भइन्।

चौधरीको राजनीतिक यात्रा विभिन्न पार्टीहरू हुँदै आएको छ। उनी पहिले थारुहट तराई पार्टी नेपालबाट समानुपातिक सभासद् बनेकी थिइन्। त्यसपछि नयाँ शक्ति पार्टीमा आबद्ध भइन् र अन्ततः एमालेमा प्रवेश गरेकी थिइन्। हाल उनी राजसंस्थाको समर्थनमा सक्रिय भएकी छन्।

हालै भैरहवामा आयोजित पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन कार्यक्रममा चौधरीले राजसंस्थाको पक्षमा खुलेर समर्थन जनाएकी छन्। उनले कार्यक्रममा भनिन्, “राजाले अब नेतृत्व लिन डराउनु पर्दैन। जनता फिल्डमा आइसके।” साथै, उनले “राजा आउ देश बचाउ” जस्ता नाराहरू पनि लगाएकी थिइन्।

चौधरी संसद्‍मा हुँदा मधेशवादी दलहरूबारे कडा प्रतिक्रियासहित बोल्थिन्। तर, हाल उनी गणतन्त्रवादीहरूको विरोधमा खुलेर बोल्दै हिँड्छिन्। उनको यो राजनीतिक धार परिवर्तनले नेपालको राजनीतिक वृत्तमा नयाँ बहसको सुरुवात गरेको छ। राजसंस्थाको पुनर्स्थापनाको पक्षमा खुलेर लाग्ने नेताहरूको संख्या बढ्दै गएको देखिन्छ, जसले आगामी दिनमा नेपालको राजनीतिक परिदृश्यमा महत्वपूर्ण प्रभाव पार्न सक्छ।

By कुशल भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.