चितवन, वैशाख १८ — नेपाल पत्रकार महासंघको ७०औँ स्थापना दिवसको अवसरमा चितवनमा कार्यरत पत्रकारहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। महासंघ चितवन शाखाको आयोजनामा र जनस्वास्थ्य कार्यालय चितवनको प्राविधिक सहयोगमा बिहीबार १०० जना पत्रकारहरूको मधुमेह, रक्तचाप, मृगौला सम्बन्धी परीक्षण तथा उचाइ, तौल र जोखिम भारवहन (BMI) जाँच गरिएको हो।
यसअघि चैत १६ गते नै स्थापना दिवस मनाउने तयारी गरिएको थियो। तर, काठमाडौंको तीनकुनेमा राजावादी समूहद्वारा सञ्चालित हिंसात्मक प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममा आक्रमण भएपछि कार्यक्रम स्थगित गरिएको थियो। महासंघको केन्द्रीय कार्यालयको परिपत्रअनुसार बिहीबार स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम महासंघ चितवन शाखाका कार्यवाहक अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भयो। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नारायण अधिकारी प्रमुख अतिथि थिए। जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारी लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरे।
स्थापना दिवसकै अवसरमा वैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवस पनि परेकोले, महासंघले सबै प्रदेश समिति र जिल्ला समितिलाई प्रेस स्वतन्त्रता लगायतका विषयमा रचनात्मक कार्यक्रम आयोजना गर्न अनुरोध गरेको छ।
नेपाल पत्रकार महासंघले पत्रकारहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।