काठमाण्डौं-
देशका धेरै ठाउँमा आज दिनभर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल बागमती प्रदेशका केही स्थानसहित कोशी, गण्डकी र लुम्बिनीका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही ठाउँ, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँ तथा बाँकी भेगका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।
तीनथरी वायुका कारण हिजोदेखि प्रिमनसुन सक्रिय भएको हो । यसको प्रभाव भोलि ९मंगलबार० सम्म रहने र देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । यसले कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।