काठमाण्डौ –
पाकिस्तानीद्वारा मलेसियामा हत्या गरिएकी कावासोतीकी तिलमाया सार्कीको शव ११ महिनापछि सोमबार नेपाल ल्याइएको छ । सुरक्षित आप्रवासन केन्द्र ९सामी परियोजना०की परामर्शदाता रञ्जना लम्सालका अनुसार दिउँसो तिलमायाको शव काठमाडौँ ल्याइएको हो ।
२१ महिनाअघि तिलमाया श्रीमान सम्बन्धविच्छेद गरेर नाबालिका छोरीलाई दिदीको रेखदेखमा छोडी वैदेशिक रोजगारीका लागि मलेसिया गएकी थिइन् । मलेसिया गएको एक वर्ष बित्न नपाउँदै तनहुँका एक युवक र तिलमायाको हत्या भएको थियो ।
आप्रवासन केन्द्रको निरन्तरको प्रयास र आफूहरुको प्रयासलाई बल पुग्ने गरी समाचार छापिएपछि शव नेपाल ल्याउन सम्भव भएको लम्सालले बताइन् । उनको शव कावासोती ल्याएर मङ्गलबार अन्त्येष्टि गरिनेछ ।
हत्यालगत्तै तत्काल सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि सुनुवाइ हुन सकेको थिएन । उनको शव नेपाल ल्याइए पनि राहत रकमका लागि पहल भइरहेको र १५र२० दिनमा राहत पनि आइसक्ने आप्रवासन केन्द्रले जनाएको छ ।
नेपालमा वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीले राहत रकम उपलब्ध गराउने छ भने मलेसियामा अदालतको फैसलापछि मात्र हत्या गरेका व्यक्तिबाट क्षतिपूर्ति रकम भराइने लम्सालले बताइन् ।
तिलमायाकी दिदी नीलमायाका अनुसार गत वर्षको वैशाख २६ गते परिवारसँग अन्तिम सम्पर्क भएको र त्यसको एक हप्तापछि हत्या भएको खबर आएको थियो । मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुने भएकाले शव ल्याउन ढिलाइ भएको हो ।
वैदेशिक रोजगार बोर्डको नियमअनुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ । बोर्डका प्रवक्ता टीकाराम ढकालले पनि पाकिस्तानीमाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिलाइ भएको बताए ।