शब्द अर्थ
पाथीभरा = भरेको पाथी
मुक्कुम्लुङ = सर्वशक्ति भएको पहाड
मुक = शक्ति
मुक्कुम = शक्ति भएको / शक्तिमात्ता
लुङ = पहाड, हिमाल, थुम्की, ढुङ्गा
सेमुक्तुबुङ = उज्यालो प्रदीप्त शक्ति भएको घुङ्ग्रिङको बोट भएको ठाँउ
से = उज्यालो, प्रदीप्त
मुक्तु = घुङ्ग्रिङ, शक्तिमत्ता
बुङ = बोट , बोट भएको ठाँउ
सेमुक्तुकोक = उज्यालो प्रदिप्त शक्ति भएको डाँडा
विश्व ब्रह्माण्डको सृष्टिकर्ता सर्वशक्तिमान् तागेरा निङवाफू माङको धेरै रूपहरु येत्नारा फाङ्नारा मध्ये सुयेन्नो सुनुहाङमा युमा माङ एउटा हो । समय स्थान र परिस्थिती अनुसार युमा माङले पनि विभिन्न रूप बदल्दछिन्। जस्तै सिन्युक हाङ्मा, लाशा हाङमा, काशी हाङमा, यासोकेनी, धनकुटेनी,संसारी माई, बुढी बज्यू, महारानी आदि आदि । संसारीमाई बुढी बज्यू, महारानी भएपछि गैर लिम्बुहरूमा पनि थान्छिङमा गर्न (देहमा प्रवेश गर्न) थालेको पर्याप्त उदाहरणहरू छन् । भानु ओलिको “बिजुवा महारानी“ बोलको गीत पनि एउटा ज्वलन्त उदाहरण हो, जो युट्युबमा हेर्न सकिन्छ ।
विशेष गरेर युमा माङ लाई ज्ञान, वुद्धि विवेककी खानी मानिन्छ, त्यसमा पनि मुख्य गरेर तान बुन्न सिकाउने गुरुआमा नै युमा हुन् भन्ने मुन्धुममा छ । थाककेलुङ खिबेलुङमा तान बुन्न सिकाएको स्थान आज पनि हेर्न सकिन्छ । तीन राते (सुम्सेन) तङ्सिङमा यसको विस्तृत वर्णन आउँछ । यहाँ मूल कुरा धागो र युमा माङ को गहिरो सम्बन्ध छ। अहिले कान्छी थान भनिने ठाँउबाट धागो टाङ्दै टाङ्दै बल शक्ति माग्दै माग्दै माथि मूल थान तिर लगिन्छ। यो प्रचलन वा संस्कारसँग सीधा सम्बन्ध युमा माङ सँग रहेको छ। त्यसैले याक्थुङ लिम्बुको ऐतिहासिक तथा सांस्कृतिक मुन्धुमी स्थल हो।
याक्थुङ लिम्बुको प्रायः हरेक संस्कार, पूजा,अनुष्ठान, ग्रहजप स्वस्तिशन्ती गर्दा, सुख दुःखको संस्कारहरू गर्दा चाहिने वनस्पति जन्य सामसिङ मुक्तो, सेत्लो फेक्वा देखि लिएर माङ सम्माङ, साम सोघा, सुगुप तथा मेन्छाम याप्मी फूलहरूको आवश्यक पर्दछ। मुख्य गरेर ती वनस्पति तथा फूलहरू पाउने स्थान पनि मुक्कुमलुङ क्षेत्र नै भएको कारण पनि यो याक्थुङ लिम्बू हरुको ऐतिहासिक तथा सांस्कृतिक मुन्धुमी स्थल हो। मुन्धुमले किटान गरेको याक्थुङ लिम्बुहरूको आदिम पुर्खा सुच्छुरु सुहामफेबाको आमा थोसुलुङमा फियामलुङमा हुन् भने तेत्लारा लाहादोङनाको आमा योसूलुङमा मुक्कुमलुङमा हुन्। सुच्छुरू सुहामफेबा र तेत्लारा लाहादोङनाका सावायेत्हाङ सा तथा पेगी फाङसाम सा हरुका सन्तान दरसन्तान हरु नै आजका याक्थुङ लिम्बू हरु हौ । तसर्थ याक्थुङ हरुको आदिम आमा तेत्लारा लाहादोङनाको आमा योसुलुङ्मा मुक्कुम्लुङमा भएको मुन्धुमी तथ्य अनुसार पनि मुक्कुमलुङ् पाथीभरा क्षेत्र याक्थुङ लिम्बुहरूको ऐतिहासिक तथा सांस्कृतिक मुन्धुमी स्थल हो। त्यसकारण उनै तेत्लारा लाहादोङनाको आमा भएको कारण आमा माता अर्थात् युमा माङ को रूपमा पूजा गरिन्छ भन्ने कथन पनि रहिआएको छ। जसलाई हाल पछिल्लो चरणमा पाथीभरा माताको नामले पनि चिनिन्छ। खासमा उनै सुयेन्नो सुनुहाङ्मा युमामाङ को अर्को रुपमा प्रकट भएको कथन रहेको छ। उनलाई पुकार गर्दा “मेन्निमा मेन्धापमा माङ्ङे, निस्से सेक्खा माङ्ङे, सुयेन्नो सुनुहाङ्मा यूमामाङ मुक्कुम्लुङमा माङङे“ भनेर पुकारिन्छ । वास्तवमा तागेरा निङ्वाफु माङको भिविन्न येत्नारा फाङ्नारा रूप मध्ये युममाङ मुककुम्लुङमाको रुपमा प्रकट भएको मानिन्छ । त्यसकारण सर्वशक्तिमान तागेरा निङ्वाफू माङको दर्शन प्राप्त गर्न सकिने शक्तिपिठको रुपमा पछिल्लो चरणमा हिन्दुकरण भई पाथीभरा माताको नामले पनि चिनिन्छ । मुन्धुमी दर्शनलाई हेर्दा सुरुवाती अवस्थामा याक्थुङ लिम्बुहरूको सांस्कृतिक विरासतको रुपमा रहेको तथ्यलाई स्वीकार गर्नै पर्दछ ।
नावाचइत तथा येहाङ सेम्मा मुन्धुममा मुक्कुम्लुङमा यसरी आउँछ
….युक्फुङकेम्बारे साहानकेम्बारे,
इक्शा खियाहा खाम्बेक खीयाहा,
तरक खियाहा ताङसाङ खियाहा,
खियोक्वा पानरे चम्योक्वा पानरे,
लेक्वा थासुसि चाम्योक थासुसी,
लेकवा मेदे?रे चामयोक मेदे?रे,
योसुलुङ पाङ्भे ओ मुक्कुम्लुङ् पाङ्भे ओ,
योसुलुङमा ग मुक्कुम्लुङमा नु,
सुसारीमा ग फन्दारीमा नु,
सिसा येबेसी मेन्छिन् येबेसि,
सेन्दी मेलोसिङ तुममा मेलोसिङ,
मिक्चिरी फुङ नु मिकफोये फुङ नु,
हाजिरी फुङ नु हाफोये फुङ नु,
पेली मेनु?रे पानला मिनु?रे,
माङ्वा चानु आ कुदक चानु आ,
युन्छो लोसेरो खमाङ लोसेरो,
सुरा मेमेच्छिङ युक्ना मेमेच्छिङ,
मिक्खुङ मेदे?रे इम्मा मेदे?रे,
वया फक्सेल्ले सेतलुम फक्सेल्ले,
युकफुङ केम्बा ग साहान केमबा ग,
मिकखुङ सोरेमु इममा सोरेमू
योसुलुङमेन् ग मुक्कुम्लुङमेन् ग
मीक्खुङ सोरेरो इम्मा सोरेरो,
नासिङ यक्नेसी थक्ला यक्नेसि,
वयामु पोगेरो लिङदुङ मु पोगेरो,
ईगे चोगेसी चुकमु चोगेसि,
ईगे नुमारे चुक्मु नूमारे,
ईगे सोरेरो चुक्मू सोरेरो,
योसुलुङमेन ग मुककुमलुङमेन् ग,
तेल्लुङ कुच्छिङ मू सारुम कुच्छिङ मू,
वेल्लुङ कुच्छिङ मू सायो कुच्छिङ मू,
खनहासाः–
तुङ्गुम्मा चोत्लुङ लो सिम्बोमा चोत्लुङ लो,
यक्लारी चोत्लुङ लो हाङमारी चोत्लुङ लो !
यस मुन्धुमको अर्थः–
सावा युक्फुङकेम्बाले धर्तीका कुकुरहरू आकाशका कुकुरहरू सुसेल्दै बोलाउँदै योसुलुङ गाउँमा मुक्कुम्लुङ गाउँमा शिकार खेल्न गए । जाँदाखेरी योसुलुङमा मुक्कुम्लुङमा र सुसारिमा फन्दारिमा दुइ युवतीहरु थिए । उनीहरूसित भेटघाट भयो बोलचाल भयो । मिकचिरी फूल र मिक्फये फूल सहित हाजिरी फूल र हामोये फुलसहित वातचित गर्दै हाँसखेल गर्दै खाना खाए । साँझ पर्यो, रात पर्यो, आराम गरे, निद्रामा परे । रात बित्दै जाँदा मध्य रातमा सावा यूकफुङगेम्बा ब्यूँझिए, योसुलुङमÞा मुक्कुम्लुङमा पनि त्यसै बखत व्युँझिए । काउकुती लाग्यो भावनामा आए, उत्तेजनामा आए । यौनक्रिडा गरे, संसर्ग गरे । जीवन साथी मिल्यो, संसर्ग मिल्यो । आनन्दित भए, आलहादित भए । योसुलुङमा मुक्कुमलुङमा लाई गर्भधारण भयो । हो यिनै मुन्धुम त तरुनीको चोत्लुङ हो है, नारीको चोत्लुङ हो है, महिलाको चोत्लुङ हो है ।
यसरी मुन्धुमी दर्शनको आधारमा र माथिको शाब्दिक अर्थको गहिराइमा जाँदा पनि याक्थुङ लिम्बू साँस्कृतिक बिरासत हो भन्नेमा दुईमत छैन ।
हजारौं वर्ष पहिलाको मुन्धुममा उल्लेखित थोसुलुङमा फियामलुङमा, योसुलुङमा मुक्कुमलुङमा लाई दफन गरेर भेडी गोठालाको कथाले ढाकछोप गर्नु र पुँजीवादको अजिङ्गर लाई कथित विकासको फुलबुटा भरेर स्थानिय तथा आम सरोकार वालाहरुको आँखामा क्षारो हाल्न उद्यत रहनु भनेको पुँजीवादको आचिलाई प्रसाद बनाएर बाँड्नु जस्तै हो जसले भयानक रोग निम्त्याउन सक्दछ ।
मुन्धुमको श्रीखण्डलाई तिलाञ्जली दिएर भेडी गोठालाको कथाले बुट्टा भरेर खुर्पाको बिंड समाउनु भनेको स्वर्ग जाने बाटो छाडेर आचीको खोजी गर्नु जस्तै हो । यो भन्दा लज्जास्पद र हास्यास्पद कुरा अरु के हुन सक्दछ ? आजको यथार्त सबैको आस्थाको साझा थलो भएको कुरालाई पनि नजर अन्दाज मात्र गर्न मिल्दैन तर यसो हुँदा हुँदै पनि सांस्कृतिक मुन्धुमी विरासतको इतिहास लाई मेट्ने दुस्साहस पनि कसैले गर्नु हुँदैन । सम्बन्धित सरोकार वालाहरु सहित छलफल गरेर सरकारले समयमै निकास दिनु सबै भन्दा बुद्धिमत्ता हुनेछ ।
धन्यवाद सेवारो ।
लेखक –
यात्री नयोङहाङ – काठमाण्डौ