आजीवन जेल सजाय सुनाइएर साउदी जेलमा परेका चितवन खैरहनी मजुई ७ का उपेन्द्र कार्की ५ हजार दिन पछि मातृभुमी टेकेको दिन ।
आज भन्दा करीव १३ वर्ष अघि २०१२ फेब्रुअरी २४ तारीख बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको हायलमा रहेको अल इतियाज कन्स्ट्रक्सन कम्पनीमा ड्राइभरको भिसामा पुगेका थिए । भिसामा तोकिए अनुरूपको काम अनुसार तोकिए बमोजिमको वेतनमा काम पाए पछि कार्की खुशी नै थिए । खाडी भासिनु नितान्त उपेन्द्रको एकांकी चाहना मात्र थिएन । घरको दैनन्दिनी चलाउन हम्मे हम्मे परेका उनका बुवा सन्तोष बहादुर कार्की र आमा शान्ती कार्कीको मुहारमा खुशी बहार गरिदिनु उनको अभिष्ट चाहनाकै कारण बुढ्यौलीवयमा लाग्दै गरेका आफ्ना बुवा आमालाई एक्लो घरमा छोडेर उनि साउदी आएका थिए ।
बिदेशको भूमिमा समयको घनचक्कर अनुकूल/प्रतिकूल परिवेशको कष्टकर जीवन बिताउँदै आएका उपेन्द्र छुट्टीमा घर आउन ६ महिना मात्र बाँकी रहँदा साउदी नागरिकले चलाएको कार संग उनले चलाएको मालबाहक साधन दुर्घटना हुन पुग्यो । दुर्घटनाकै कारण चालक साउदी नागरिकको उपचारको क्रममा दुबै खुट्टा काट्नु पर्ने भयो र सोही कारण साउदी नागरिकले उपेन्द्रको बिरुद्दमा अदालतमा मुद्दा दायर गरे ।
फलस्वरूप त्यहाँको अदालतले साउदी नागरिकको पक्षमा फैसला गर्दै उपेन्द्र कार्कीले १ करोड २६ लाख ७३ हजार नेपाली रुपैंया वरावरको ब्लड मनी तिर्नुपर्ने अन्यथा आजीवन कारावास सजाय हुने फैसला सुनायो ।
अति नै निम्न वर्गीय परिवारका उपेन्द्र सो फैसलाले छाँगोबाट खसेको जस्तो भए । जे जस्तो भए पनि यो बारेमा उपेन्द्रले नेपालमा रहेका आफ्ना बुवालाई जानकारी गराउनु पर्ने भएर बताएपछी उनको बुवाआमा शोकले बिक्षिप्त हुन पुगे । छोराको जीवन रक्षा र उद्दारको लागि हारगुहार गर्दै हिड्ने क्रममा उपेन्द्रका बुवा आमा चितवन सेवा समाज अन्तरास्ट्रिय समन्वय समितीका अध्यक्ष मुक्ती प्रसाद अधिकारी र महासचिव गणेश ढकाल र चितवन सेवा समाजका आजीवन सदस्य शान्तमणी नहर्की संग जोडिन पुगे ।
सबैले आ-आफ्नो क्षेत्रबाट आर्थिक सहयोग संकलनका लागि पहल गर्ने क्रममा स्थानीयवासी संग आर्थिक सहयोग जुटाउने अभियान पनि सन्चालनमा ल्याइयो । सो बारेमा स्थानीय प्रशाशनले जानकारी पाएपछी आफ्नो प्रहरी प्रशाशन भवन निर्माणको लागि स्थानीय व्यापारी, उधोगी संग चन्दा बटुल्दै हिंड्ने प्रहरी प्रशाशनले सरकारी भवन बनाउन चन्दा उठाउँदै हिंड्ने प्रहरी अभियानलाई बैध ठान्यो भने साउदी अरवको जेलमा आजीवन कारावास सुनाएर जेल सजाय भोग्दै आएको उपेन्द्रको जीवनको रक्षाको लागि आर्थिक सहयोग संकलन अभियानलाई अवैध ठहर गर्दै सो अभियानमाथी कानूनी अंकूश लगाइदियो ।
सो कारणले विह्वल बनेका उपेन्द्रका बुवा फेरि महासचिव गणेश ढकालको शरणमा परे । परोपकारी सोचका सामाजिक ब्यक्तित्व ढकालले सो बारेमा हङकङमा रहेको चितवन सेवा समाजका तत्कालीन अध्यक्ष ओम गुरुङलाई जानकारी गराए ।
हङकङ शाखाका अध्यक्ष गुरुङले तत्काल नै एउटा कार्यक्रमको आयोजना गरि उपेन्द्र बचाउ अभियान अन्तर्गत नेपाल स्थित गणेश ढकालको सम्पर्कमा आएर ८ लाख पठाउने घोषणा गरे पनि उपेन्द्रले त्यहाँबाट पाउने आफ्नै रकम र स्थानीयवासी बाट संकलित रकमकै जोहो बाट उनले उन्मुक्ती पाएका हुन् । साउदीमा रहेका काभ्रे सेवा समाजका उपाध्यक्ष राम प्रसाद सापकोटाले पनि उनको उन्मुक्तिको लागि अक्षुण्ण भूमिका खेलेको बारेमा ढकालले बताउनुभयो ।
उता साउदी अरवमा आजीवन कारावास सुनाइएका उपेन्द्रको सजायमा जेलमा बस्दा प्राप्त हुने भत्ता र राजा र रानीको जन्मोत्सवको अवसरमा पाएको जरिवाना माफी समेत मिलाएर उनले नेपाली रुपैंया १९ लाख ८५ हजार ५ सय बुझाएर उन्मुक्ती पाए ।
१३ वर्ष सम्म आफू काम गरेको कम्पनीले कुनै पनि आर्थिक सहयोग नगरे पनि अन्तत: उनले कारावास मुक्तिको पत्र बुझेर उने नेपाल आउने भए ।
अदालतले कारावास मुक्तिको फैसला सुनाए पनि नेपाल फर्कने क्रममा साउदीको अध्यागमन कार्यालयमा कतै प्रहरीले पक्राउ पुर्जी थमाएर पक्राउ गर्ने हो कि भन्ने भयले घरमा समेत कसैलाई खबर गरेनन् । त्यतिबेला समय उपेन्द्रको पक्षमा रह्यो र उनी साउदी अरवलाई सदाको लागि बिदाइको हात हल्लाउँदै साउदी अरवको रन-वे बाट एभ्रो बिमानले भुइँ छोडेर आकाशमा उचालिएपछी ज्यान बचेर आफ्नो घरदेश फर्किन पाएको खुशीमा आफैंलाई धन्यवाद दिँदै खुशीको आँसु झार्दै आफ्नै लागि आफैंले थपडी बजाउँदै जहाजमा कावा खादै घर आइपुगिसकेका छन् ।
चितवन सेवा समाजको हाम्रो टोलीले ९ वर्ष अघि देखि चलाएको अभियान र म स्वयं पनि पुगेर उद्दारको लागि मैले बनाएको तत्कालीन डकुमेन्ट्री बनाएको स्मृती आज सम्झिरहेको छु ।
आमा बुवा र छोराको ५००० दिन पछिको अंगालो मारेर रोएको त्यो स्मृती सम्झेर हामीले पनि सफलताको खुशीमा श्रद्दा प्रकट गर्दै द्रवीभूत भयौं ।
आज उपेन्द्रले नयाँ जीवन पाएर आफ्नो बुढा बुवा आमा संग खैरहनीको मजुईमा खुशी संग बसिरहेका छन् । आमाको खुशीको लागि अर्को खुशी थप्न उनी अब बिहेको तयारीमा पनि जुट्दैछन ।