आज मितिः २०८३ बैशाख १७ गते

तराईमा शीतलहर, काठमाडौं उपत्यकामा वायु प्रदूषण

चितवन-

 

तराईमा हुस्सु र कुहिरो लागेसँगै वीरगञ्ज लगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन्।

तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ। चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन्।

मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कंडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिए। कार्यालयका अनुसार वीरगञ्जको शनिबारको अधिकतम् तापक्रम १५ डिग्री सेल्सियस र शनिबारको न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको थियो।

पर्साका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० गणेश अर्यालले चिसोबाट जनतालाई जोगाउन विभिन्न स्थानमा दाउरा वितरण गरिरहेको जानकारी दिए। प्रजिअ अर्यालले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सिरक तथा न्यानो लत्ताकपडा वितरण भइरहेको जानकारी दिए।

शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

यता अत्यधिक चिसो भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण पनि बढेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ ९एक्यूआई०का अनुसार आज काठमाडौं उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ।

वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ। “चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो घाम लागेर तापक्रम बढ्दै जाँदा हावामा प्रदूषण फैलन्छ”, उनले भने। त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उनको भनाइ छ।

एक्यूआईका अनुसार आज काठमाडौं उपत्यका विश्वको पाँचौं प्रदूषित सहरमा परेको छ। उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ। लाहोरको एक्युआई तीन सय ४१ छ।

साथै दोस्रो स्थानमा रहेको भारतको कोलकातको एक्यूआई दुई सय ४८, तेस्रो स्थानमा मंगोलियाको उलानबाटरको एक्यूआई दुई सय ३८ छ । साथै चौथो स्थानमा रहेको प्रदूषित सहर भारतको नयाँ दिल्लीको एक्यूआई दुई सय २७ एक्यूआई छ।

विपद व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानेर हरिया संकेत दिइन्छ। साथै ५१ देखि एक सयसम्मको एक्यूआईले होसियार रहन संकेत गर्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआई हुँदा श्वासप्रश्वासमा समस्या हुने र मुटु रोगीका लागि खतरा मानिन्छ। उहाँका अनुसार एक सय ५१ देखि दुई सयसम्मको एक्यूआईलाई अस्वस्थ र त्यसभन्दा माथि वायु प्रदूषण भएमा अत्यधिक अस्वस्थ भएको मानिन्छ।

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआई को मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख गरेको छ। उक्त विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरुलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.