आज मितिः २०८३ बैशाख १३ गते

चितवन हात्ती महोत्सवको तयारी पुरा : भोली उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने

रत्ननगर –

चितवनको पर्यटकीय नगरी सौराहामा भोली विहीबारबाट सुरु हुने चितवन हात्ती तया पर्यटन महोत्सवको तयारी पुरा भएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुँदैछ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नेछन् ।

 

महोत्सव सुरु हुनुपूर्व सौराहामा भब्य शोभायात्रा निकालिने छ । चितवनको पर्यटन विकासका लागि सौराहामा हात्ती तथा पर्यटन महोत्सव आयोजना गरिएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । महोत्सवको अबसर पारेर व्यवसायीहरुले आन्तरिक तथा बाह्रय पर्यटकका लागि १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । व्यवसायीहरुले पौष १० देखि १६ गते सम्म क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहामा आवद्ध संदस्यहरुको होटल तथा रेष्टुरेण्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरिएको संघका अध्यक्ष गंगा गिरीले बताए ।

 

जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा परिचित चितवनको पर्यटनलाई उकास्न संघको आयोजना, यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि. र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो । सौराहामा दुई दशक अघि देखि आयोजना गर्दै आएको महोत्सवका कारण सौराहा सहित चितवनमा हरेक वर्ष ४० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको अध्यक्ष गिरीले बताए । हात्ती महोत्सव अन्तर्गत हात्तीको श्रृंगार, हात्ती वनभोज, हात्तीमैत्री फुटवल पेनाल्टी, हात्तीमैत्री म्यूजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगोदौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसंग वि.दु.वि गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्रिया कार्यक्रम हुने कार्यक्रम संयोजक रामकुमार अर्यालले जानकारी दिए । उल्लेखित विभिन्न गतिविधिमा सरकारी र निजी गरी करीव ८० वटा हात्ती सहभागी हुने जनाइएको छ ।

 

हात्ती तथा पर्यटन महोत्सव नजिकिदै गर्दा व्यवसायीहरुले सौराहालाई सिँगारेका छन् । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा बार्षिक तीन लाख ५० हजार पर्यटक आउने गरेका छन् । चितवन निकुञ्जको अबलोकन गर्ने कुल पर्यटक मध्ये ८० प्रतिशत सौराहाबाट निकुञ्ज प्रवेश गर्ने गरेका छन् । सौराहा आउने पर्यटकहरु गन्तव्यको अबलोकनको अलवा हात्ती,जीप सफारी, विस हजारी तालको अबलोकन तथा थारु संस्कृतिमा रमाउने गरेको संघका उपाध्यक्ष ओम पाण्डेले जानकारी दिए । सौराहामा १३० वटा होटल र ९० वटा रेष्टुरेन्ट रहेको संघका सचिव महेश खनालले जानकारी दिए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.