आज मितिः २०८३ बैशाख २१ गते

भ्रष्टाचारलाई नाइ भनौं हरेक नाइको अर्थ  हुन्छ        

 

आज डिसेम्बर ९ अर्थात भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस। आजको दिन संसारभरि भ्रष्टाचार विरुद्धको चेतनामा वृद्धी गराउन र जागरण बढाउने कार्यमा केन्द्रित रहेर जनचेतानामूलक कार्यक्रमहरु गर्ने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । राष्ट्र संघले सन् २००३ मा भ्रष्टाचार विरुद्ध लड्ने एकमात्र अन्तर्राष्ट्रिय कानुन पारित गरेको दिनलाई विश्व दिवसका रूपमा मनाउन थालिएको हो । यो महासन्धिमा १८३ मुलुकले हस्ताक्षर गरेका छन् भने १४० मुलुकले अनुमोदन गर्नुका अतिरिक्त भ्रष्टाचार विरुद्ध ७ सन्देश प्रवाह गरेको छ । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो ।

 

राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस बिश्वभर मनाउने गरिन्छ । भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष दिवस मनाइए पनि संसारभरी पनि भ्रष्टाचारको बिगबिगी बढेको बढ्यैछ,यो रोकिएको छैन । भ्रष्टाचार दिनदिनै बढिरहेको कारण यो संसारभरि एउटा साझा समस्याका रूपमा फैलिरहेको छ ।मान्छेहरुमा बढ्दो धन कमाउने लालसा, नैतिकता र इमानदारीतामा कमी, गैरकानूनी र छोटा कमाउने बाटाहरु अपनाउने चलनले भ्रष्टाचारले संसारभरी बलियो जरा गाडिसकेको आभास हुन्छ ।भ्रष्टाचारका कारण सुशासनका लागि खबरदारी गर्ने संस्थाहरू कमजोर हुँदै गएपछि पैसावाला र पहुँच भएकाहरूको मनोबल बढेको छ । साथै भ्रष्टाचार रोक्न नसक्दा रोजगारीको अवसर घटेका छन् । हुँदाहुँदै अब त अन्य सक्षमतालाई लत्तयाएर पैसामा सार्वजनिक पद खरिद–बिक्री हुनथालेका छन् ।

यसले आर्थिक, राजनैतिक र वैचारिक पृष्ठभूमिलाई नकारात्मक असर पारेको छ। ।

 

भ्रष्टाचारले गर्दा मुलुकमा ढुकुटीमात्र नरित्तिई यसबाट सरकार अस्थिर हुनगई संस्थागत रूपमा अपराधीहरूको सञ्जाल विस्तार हुँदै गएको छ । भ्रष्टाचारका कारण समाजमा ‘हुने र हुँदा खाने’बीच खाडल बढेर लोकतान्त्रिक व्यवस्था धराशायी भएका धेरै उदाहरण हामी माझ छन् । त्यसैले गर्दा पनि भ्रष्टाचार विरुद्धको लडाइँ विश्वको चासो र सरोकारको विषय बनेको छ । भ्रष्टाचारले सार्वजनिक सेवा प्रवाह र विकास व्यवस्थापनका साथै सामाजिक जीवनका सबै क्षेत्रलाई नकारात्मक प्रभाव पार्ने भएकाले भ्रष्टाचार गर्ने मनोवृत्तिमा ठोस सुधार गर्न जरूरी रहेको छ।अध्ययनहरु हेर्दा विशेषगरी भ्रष्टाचारले गरिब र विपन्न नागरिकलाई बढी मात्रामा प्रभाव पारेको देखिन्छ। भ्रष्टाचारले मुलुकमा राजनीतिक अस्थिरता बढाउनुका साथै लामो संक्रमणकालबाट गुज्रिएका मुलुकमा गरिबी झन् बढेको देखिन्छ । पछिल्लो समयमा त भ्रष्टहरूले सूचना प्रविधिलाई समेत दुरुपयोग गर्ने हैसियत बनाइसकेका छन् । क्षणभरमै राष्ट्रको ढुकुटी रित्तिन सक्ने अवस्था आएको छ हाल भ्रष्टाचारको अंक मात्र नभई क्षेत्र पनि बढ्दै गएको छ । भ्रष्टाचारको प्रकृति, आयाम र चरित्र दिनहुँ मौलाउँदै तथा व्यापक हुंदै गइरहेको र अन्तरदेशिय अपराधको रुपमा यसको जालो फैलदै गएको सन्दर्भमा यसलाई नियन्त्रण गर्न पक्कै पनि प्रशस्त चुनौति र कठिनाइ छन । यसको निम्ती सकेसम्म समाजमा भ्रष्टाचार हुन नदिनको लागि निरोधाधात्मक उपायको प्रणालीको स्थापना र सुदृढिकरणमा नै बढी जोड दिनु पर्ने हुन्छ।

पछिल्लो दशकमा नेपालमा भ्रष्टाचारका नयाँनयाँ रुपहरु देखिँदै आएका छन् । सरकारी कार्यालय र सुरक्षा निकायमा बढी भ्रष्टाचार हुने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

 

त्यसैगरी स्थानीय निकाय संग सम्वन्धीत उजुरी पनि बढी पर्ने गरेको छ । त्यस्तै विभिन्न बिद्यालयमा भएको अनियमितता सम्वन्धी उजुरी, स्वास्थ्य क्षेत्रका विभिन्न संस्थानहरु विरुद्धको उजुरी समेत बढेको अध्ययनले देखाएको छ। यसको इतिहास पल्टाउने हो भने सन् २०१५ मा १ सय ६८ देशहरुको सर्वेक्षण हुँदा सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा नेपाल एक सय ३०औं नम्बरमा परेको थियो । सरकारी भ्रष्टाचार नै प्रमुख समस्या रहेको भन्नेसहितका तथ्यांक उल्लेख गरिएको थियो । त्यसपछि कुल एक सय नम्बरका लागि भएको विभिन्न अध्ययनका क्रममा नेपालले सुशासनको पक्षमा २७ नम्बर मात्र पाएको थियो भने बाँकी विषय भ्रष्टाचारसम्बन्धी रहेको अध्ययनले देखाएको थियो । पछिल्ला अध्ययनहरुले नेपालमा हरेक वर्ष विभिन्न नयाँ स्वरुपबाट भ्रष्टाचारजन्य गतिविधि बढिरहेको देखाएको छ । त्यसमध्ये एउटा उदाहरण हो, विकास–निर्माणको काममा बढी पैसा भुक्तानी दिएर हुने भ्रष्टाचार । केही वर्ष अगाडि मात्रै महालेखा परीक्षकको कार्यालयले भ्रष्टाचारको यस्तो नयाँ रुप पत्ता लगाएको थियो ।

 

भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । नेपालको संवैधानिक व्यवस्थाअनुसार कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्छ । तर विभिन्न शक्तिको प्रवाहमा परेर यो निकायले पनि खासै उपलब्धि हासिल गर्न नसकेको देखिन्छ।जबकि नेपालमा भ्रष्टाचारविरुद्ध कामकारवाही गर्ने सरकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुल संस्था हो ।यसको भूमिका कस्तो हुनु पर्दथ्यो भनेर सोच्न आवस्यक छ।अर्को तर्फ भ्रष्टाचार रोक्न राष्ट्रिय सतर्कता केन्द्रले दुई दशक अगाडि देखि काम गर्दै आएपनि नेपालमा सोचे अनुसार प्रतिफल निस्कन भने सकेको छैन ।

 

ट्रान्सपरेन्सी इन्टरनेसनलको वार्षिक प्रतिवेदन, २०१६ ले विश्वका १७६ मुलुकमध्ये २९ अंक पाएर नेपाल १३१ औं स्थानमा थियोे । यो अवस्था सन् २०१२ देखिकै निरन्तरता हो, यसमा कुनै सुधार आएको छैन । बरु अवस्था झन् खस्किँदै गएको तथ्य विभिन्न प्रतिवेदनले सार्वजनिक गर्दै आएका छन् । हाल पनि ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्शन् इन्डेक्स–सिपिआई)मा नेपाल अधिक भ्रष्टाचार हुनेगरेको मुलुकहरुको सूचीमा रहेको छ । साथै ग्लोबल इन्टिग्रिटी स्कोरमा पनि नेपालमा भ्रष्टाचार विरूद्ध काम गर्ने संस्थाहरूको अवस्था ज्यादै कमजोर देखाएको छ । ग्लोबल करप्सन ब्यारोमिटर २०१३ सम्बन्धी अध्ययन प्रतिवेदनले नेपालमा भ्रष्टाचार बढ्नुमा ७७ प्रतिशत राजनीति, ६६ प्रतिशत प्रशासनिक, ५८ प्रतिशत प्रहरी तथा ५१ प्रतिशत न्यायिक क्षेत्रलाई दोषी देखाएको छ । त्यसैगरी ८५ प्रतिशत नागरिकले भ्रष्टाचारलाई समस्याका रूपमा औंल्याएका छन् भने ७२ प्रतिशत उत्तरदाताले भ्रष्टाचार बढेको जनाएका छन् ।

 

त्यसैगरी १३ प्रतिशत उत्तरदाताले मात्रै भ्रष्टाचार विरुद्ध लड्ने निकाय प्रभावकारी भएको निराशाजनक उत्तर दिएका छन् । स्वयं संबैधानिक अंगको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदनजस्ता सरकारी निकायकै आधिकारिक दस्तावेज र तथ्य–तथ्याङ्कले मुलुकमा भ्रष्टाचार बढिरहेको पुष्टि गर्छ । भ्रष्टाचार विभिन्न प्रकारका शक्तिको आडमा हुर्कने र रमाउने भएकाले हाम्रो समाजमा भ्रष्टलाई संरक्षण दिने परिपाटीको अन्त्य गर्न गराउनुपर्छ । ‘भ्रष्टाचार गर्दिन’ र ‘भ्रष्टाचार गर्न दिन्न’ भन्ने सार्वजनिक प्रतिबद्धता गरेर आआफ्नो क्षेत्रलाई सुशासनयुक्त बनाउने अभियानमा सक्रिय सहभागी हुनुपर्छ । साथै भ्रष्टाचार विरुद्धको जनमत निर्माण गर्न नागरिक संस्थाहरूलाई परिचालन गरी नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।

 

भ्रष्टाचार विरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, न्यायलय, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक देखिएको छ।यद्यपि भ्रष्टाचार बहुआयामिक र जटिल विषय बनेकाले यसको रोकथामका लागि हाम्रो शैक्षिक पाठ्यक्रममै यस विषय लाई समावेश गरि समाजबाटै यसको निवारणार्थ आवाज बुलन्द गर्न जरुरी छ।भ्रष्टाचारको दुष्परिणाम वर्तमानमा मात्र नभइ भावी पिढीले समेत भोग्नुपर्ने भएकाले यसलाई तत्काल नियन्त्रण गर्न भ्रष्टाचार विरुद्ध नियमित रुपमा सचेतनाका अभियान सञ्चालन गर्नुपर्ने खाँचो रहेको छ । ”हातका मैला सुनका थैला के गर्नु धनले साग र सिस्नु खाएको बेस आनन्दी मनले” I

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.