चितवन –
पत्रकार रवि रोषीको शब्द लेखन रहेको ‘मेरो माया’ नामक गीत यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । पाँच बर्ष अघि रेकर्ड गराएको गीत राम रिमालसंगको सहकार्यमा म्यूजिक भिडियो तयार गरिएको हो ।
गायिका मेलिना राई र गायक शिव कुमार चौधरीको स्वर रहेको सो गीत आरआर इन्टरटेन्टमेन्ट युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । रत्ननगर कला मन्दिरले निर्माण गरेको सो गीत सोमबार पत्रकार सम्मेलन गरि बजारमा ल्याइएको घोषणा गरिएको छ ।
बैदेशिक रोजगारी र अन्तराष्ट्रिय स्तरमा पत्रकारिता गर्ने क्रममा २०० वटा गीत आफुले लेखेको भन्दै उनले भिडियो तयार गरेर पहिलो पटक यो गीत बजारमा ल्याउन सफल भएको उनले बताए । प्रेम आभास दिलाउने शब्द र दमदार प्रस्तुती सहितको म्यूजिक भिडियोका कारण उक्त गीतले विश्व बजारमा चर्चा पाउने पत्रकार रोषीको भनाई छ ।
वसन्त सापकोटाको संगीत र राम रिमालको निर्देशनमा तयार भएको उक्त गीत आधुनिक हो । चितवनका रमणीय स्थानमा छायाङ्कन गरिएको म्यूजिक भिडियो पूर्ण नृत्यमा आधारित रहेको छ । मायाप्रेममा आधारित उक्त गीत र म्यूजिक भिडियोले नयाँ कलाकार जन्माउन प्रेरित गर्ने निर्देशक राम रिमालले बताए । गीतको म्यूजिक भिडियो पृथक रहेको भन्दै रिमालले यसले कलाकार जन्माउने दावी गरे ।
म्यूजिक भिडियोमा कलाकारहरु संजय कुमार रिमाल र सिम्रन अधिकारीले अभिनय गरेका छन् । गीत सन्देशमुलक भन्दा पनि मनोरन्जनात्मक रहेको भन्दै निर्देशक रिमालले नयाँ पुस्तालाई केन्द्रीत गरेर उनीहरुले मन पराउने गरि म्यूजिक भिडियो तयार गरेको बताए ।
म्यूजिक भिडियोमा शुनिल रिमालले नृत्य निर्देशनको भूमिका रहेको छ । रोषी उद्धार न्यूज डटकमका कार्यकारी सम्पादक हुन् ।