निर्मला अधिकारी (निरु)
चितवन– साउनको तेस्रो सातासम्म नेपालमा कुल धान रोपाइँ हुने क्षेत्रमध्ये ९६.३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।
गत वर्षको यही अवधिमा ८१.८ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको थियो। नेपालमा कुल १४ लाख १ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको मन्त्रालयले जनाएको छ। जसमध्ये साउनको तेस्रो सातासम्म १३ लाख ४९ हजार ६०७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।
सुदूरपश्चिम प्रदेशमा प्रदेशगत रूपमा हेर्ने हो भने सवैभन्दा धेरै रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ। सुदूरपश्चिमा धान रोपाइँ हुने शत प्रतिशत क्षेत्रमा नै रोपाइँ सकिएको छ। गत वर्षको सोहि अवधिमा सुदूपश्चिममा ९९.२ प्रतिशत रोपाइँ सकिएको थियो।
कर्णाली प्रदेशमा भने गत वर्षको तुलनामा धान रोपाइँ बढेको छ। गत वर्षको सोहि अवधिमा धान रोपाइँ हुने क्षेत्रमध्ये ९६.३ प्रतिशत मात्रै रोपाइँ भएकोमा यो वर्ष २० साउनसम्म ९९.२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ।
लुम्बिनी प्रदेशमा पनि ९६.७ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ। त्यस्तै गण्डकी प्रदेशमा ९६.१, बाग्मती प्रदेशमा ९४.९, मधेश प्रदेशमा ९५.४ र कोशी प्रदेशमा ९५ प्रतिशत धान रोपाइँ सम्पन्र भएको मन्त्रालयले जनाएको छ।