विराटनगर-
बालिका अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीले विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको छ ।
सञ्जयले बालिकाको अपहरण गरी कलानन्द र सरिताको डेरामा ल्याएर राखेका थिए । सञ्जयले फिरौतीका लागि नभएर बालिकाको ठूलीआमालाई विदेश जान रोक्नका लागि अपहरण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाको ठूलीआमा र अपहरणमा संलग्न सञ्जयबीच प्रेम सम्बन्ध छ । प्रेमिकालाई विदेश जान दिन उनी तयार थिएनन् । तर प्रेमिका विदेश जानका लागि काठमाडौं गएपछि सञ्जयले फिर्ता बोलाउन उनको बहिनीको छोरीलाई घरबाटै अपहरण गरेको देखिएको प्रहरीले बताएको छ ।
मंगलबार दिउँसो ३ बजेतिर हराएकी बालिकालाई इलाका प्रहरी कार्यालय दुहवीले खोजी गर्ने क्रममा बुधबार बिहान विराटनगर–१० बाट उद्दार गरेको थियो ।