काठमाण्डौ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. मुकुल ढकालले रवि लामिछानेको क्लबबाट मात्रै निष्काशन गरिएको बताउनु भयो ।
काठमाण्डौमा बुधबा् पत्रकार सम्मेलन गरी नेता ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट नभई रवि लामिछाने क्लबबाट मात्रै निष्काशन गरिएको जिकिर गर्नुभयो । उहाँले सभापति रवि लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान हुनुपर्ने र त्यसका लागि पार्टीको केन्द्रीय समिति सदस्यहरूले स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्नुभयो ।
ढकालले दुई वटा राहदानीको विषयमा पनि पार्टीले लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने माग गर्नुभयो । आफूलाई राजनीतिक दलको मूल्य, मान्यता विपरीत निलम्बन गरिएको र उपसभापतिबाट निलम्बनको पत्र दिन अवैधानिक रहेको उहाँले जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट होइन रवि लामिछाने क्लबबाट मात्रै निष्काशन गरिएको हो । म अहिले पनि गएर पार्टीको महामन्त्रीको कुर्सीमा बस्न सक्छु । रास्वपालाई रवि लामिछाने क्लबको रूपमा कब्जा गरिएको छ । यो कब्जाबाट हामी थुत्छौँ । सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनेर सर्वोच्च अदालतले फैसला गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अब पार्टीको धारणा बनाउनुपर्छ, त्यसका लागि स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ । राहदानीको विषयमा पनि लामिछानेमाथि छानबिन गर्न स्वतन्त्र समिति गठन गर्नुपर्छ ।’