चितवन-
चितवनको भरतपुरमा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा बाराकी सरू बस्नेत प्रथम भएकी छिन्।
भरतपुर १३, नवसाहित्य मञ्जरी , चम्पानगरले ‘देशका लागि युवाको खाँचो’ विषयमा देशभरबाट संकलित दुई सय कवितामध्ये निर्णायकहरूको मूल्यांकनपछि उत्कृष्ट नौवटा कविता छनोट गरेर शनिबार अन्तिम प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा बस्नेत प्रथम, नुवाकोटका कृष्णप्रसाद पौडेल दोस्रो र दाङका हरिप्रसाद पौडेल तेस्रो भएका छन्।
सुनसरीका मुक्ति पोखरेल र बाँकेका पदमावती रिजालले सान्त्वना पुरस्कार प्राप्त गरेको छन् । प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना दुईजनाले जनही पाँच पाँच हजार रुपैयाँ पुरस्कार एवं प्रमाणपत्र प्राप्त गरेका छन्।
विजयीहरूलाई भरतपुर महानगरपालिका– १३ का वडाध्यक्ष प्रकाश दवाडीले पुरस्कार हस्तान्तरण गरेका थिए। कविता मूल्यांकनका लागि वरिष्ठ साहित्यकार छन्दवादी कवि हरिप्रसाद रिमाल, गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोविन्द विनोदी र वरिष्ठ साहित्यकार केशवराज भट्टराई आमोदीसहितको तीन सदस्यीय मूल्यांकन समिति बनाइएको थियो।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानको तर्फबाट सदस्य रामहरि श्रेष्ठ, अमर न्यौपाने, भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, कवि प्रा।डा। देवी नेपालको सहभागिता रहेको थियो।
अध्यक्ष सूर्यमणि रेग्मीले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउँदै मौलिक साहित्यको प्रवर्द्धन, प्रचारप्रसार तथा प्रतिभाको पहिचान र उत्प्रेरणाका लागि प्रतियोगिता आयोजना गरिएको बताए।