चितवन-
गर्मीका कारण चितवन कारागारका कैदीबन्दीमा विभिन्न रोगको समस्या देखा परेको छ ।
कारागारका कैदीबन्दीमा बढ्दो गर्मीसँगै छाला, ज्वरो र झाडापखालाको समस्या देखिएको हो ।
कारागारका स्वास्थ्य शाखा प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीमा छालाको समस्याका रुपमा दाद फैलिएको छ। उनले भने ‘अहिले यो समस्या दुई सयभन्दा बढी कैदीबन्दीमा देखिएको छ।’ साँघुरो ठाउँमा बस्दा पसिना आउने र सुक्ने भएकाले यो समस्या देखिएको उनले बताए। कारागारका ६० जनाभन्दा बढी कैदीबन्दीमा ज्वरो र २० जनामा झाडापखालाको समस्या देखिएको छ।
उपचार गर्ने बजेट थोरै हुँदा कारागारमै उपचार भइरहेको उनले जानकारी दिए। अस्पताल लगेर भर्ना गर्नुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाइएको जिल्ला कारागार प्रमुख कमलनाथ आचार्यले बताए। अन्य दीर्घरोगीको नियमित उपचार भइरहेकाले गर्मीको समयमा देखिने रोगको उपचारका लागि कार्यालयले सतर्कता अपनाएको उनको भनाइ छ।
गर्मी बढेसँगै क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विगत चार महिनादेखि कैदीबन्दीलाई त्रिपालमुनि राख्नुपरेको कारागार कार्यालयले जनाएको छ। अहिले दुईवटा ब्लकमा ५० जनाभन्दा बढीलाई त्रिपालमुनि राखिएको उहाँले जानकारी दिए।
जिल्ला कारागार चितवनमा हाल सात सय ३४ कैदीबन्दी छन्।