आज मितिः २०८३ बैशाख ८ गते

चितवनका अधिकांश विद्यालयमा गर्मी बिदा

चितवन-

केही दिनयता अत्यधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा प्रत्यक्ष असर गर्ने देखिएपछि जिल्लाका अधिकांश विद्यालयमा गर्मी बिदा दिइएको छ । भरतपुर महानगरपालिकाले सबै विद्यालयमा यही जेठ २९ गतेदेखि ३२ गतेसम्म गर्मी बिदा दिइएको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँले बिदाको अवधिमा आफ्ना बालबालिकालाई दिउँसो घाममा हिँड्डूल गर्न नदिन र नदी–पोखरीमा पौडी खेल्ने माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन र सावधानी अपनाउन अभिभावकलाई आग्रह गर्नुभयो ।

 

त्यसैगरी कालिका नगरपालिका र रत्ननगर नगरपालिकाले पनि मङ्गलबार र बुधबार दुई दिन बिदा दिएको छ । कालिका नगरपालिकाका शिक्षा निर्देशक गङ्गाधर रिमालले विसं २०८१ को बर्खे बिदा कट्टी हुने गरी पालिकाका सबै विद्यालयमा बिदा गरिएको बताउनुभयो । रत्ननगरका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले बढ्दो गर्मीका कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने देखिएकाले दुई दिन बिदा दिएको जानकारी दिनुभयो ।

 

त्यसैगरी खैरहनी नगरपालिकाले भने सोमबारबाट नै दुई दिन बिदा दिएको छ । पालिकाकानगर शिक्षा अधिकारी राजु बानियाँले यस्तै गर्मी रहेमा केही दिन बिदा थप गर्नसक्ने बताउनुभयो । जिल्लाको राप्ती नगरपालिकामा भने भौगोलिक स्थानको आधारमा गर्मी बिदा दिइएको छ । पालिकाकी शिक्षा अधिकृत रविना देउजाले पालिकाभित्र २ प्रकारका भुभाग रहेको हुँदा सोही अनुरुप बिदा दिने गरिएकोे बताउनुभयो । उहाँले भन्नुभयो, “राप्तीमा २ भेग छ पहाडी इलाकामा खासै गर्मी बिदाको आवश्यक हुँदैन भने तराई भेगमा गत हप्ता पनि बिदा दिइएको थियो अहिले पनि विद्यालयले आवश्यकताअनुसानर बिदा दिँदै आएका छन् ।”

माडी नगरपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुनिता खतिवडाले माडीमा गत सातादेखिनै बिहानी कक्षा सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले बालबालिकालाई गर्मी भयो भन्ने अभिभावकको गुनासो आएसँगै बिहानी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको र हाल माडीमा पठनपाठन नियमित सञ्चालन हुँदै आएको राससलाई जानकारी दिनुभयो ।

चितवनको अधिकांश पहाडी क्षेत्रमा पर्ने एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा भने गर्मीको खासै असर देखिएको छैन । पालिकाका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामनामा गर्मी बिदाको कुनै निर्णय नभएको बताउनुभयो । पहाडी क्षेत्रमा गर्मीको असर कम हुने हुँदा बिदा नै गरेर पठनपाठन बन्द गर्नु नपर्ने उहाँको भनाइ छ । रासस

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.