आज मितिः २०८३ बैशाख ९ गते

परीक्षा सञ्चालन र नतिजा सार्वजनिक तोकिएको समयमा गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौं-

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएकी छन्।

त्रिविद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले वार्षिक कार्यतालिका निर्धारण गर्न र सोहीअनुसार काम गर्न निर्देशन दिएकी हुन्। त्रिविबाट समकक्षता लिने र ट्रान्सक्रिप्ट लिनेलगायतका विषयलाई सहज बनाउन पनि विश्वविद्यालय प्रशासनलाई उहाँले निर्देशन दिनुभएको छ। त्यस्तै, त्रिविको जग्गा अतिक्रमण भएको विषयमा उच्चस्तरीय जाँचबुझ समिति गठन गरिने पनि शिक्षामन्त्री श्रेष्ठले बताइन्।

त्रिविका उपकुलपति प्रा डा केशरजङ्ग बरालले त्रिविको पुनःसंरचना प्रक्रिया अगाडि बढाइने जानकारी दिए। ‘सरकारको शिक्षा नीति, २०७६ र त्रिभुवन विश्वविद्यालयको भिजन, २०३० मा पनि विश्वविद्यालयको पुनःसंरचनाको विषय उल्लेख भएको छ’, उनले भने, ‘पुनःसंरचनालाई टुङ्गो लगाइसक्ने भन्ने होइन तर, विभिन्न तीनवटा क्याम्पसलाई डिग्री अवार्डिङ इन्सिच्युसनको रुपमासम्म विकास गर्ने भन्ने हाम्रो योजना हो।’

त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले प्राध्यापक र विद्यार्थीको गुनासो सुन्नका लागि छुट्टै संयन्त्र स्थापना गर्न आवश्यक रहेको बताए। रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालले हराएका उत्तरपुस्तिकाका सम्बन्धमा छानबिन गर्न २०८० चैत १५ गते पूर्वरजिष्ट्रार प्रा डा चन्द्रमणि पौडेलको संयोजकत्वमा गठन भएको तीन सदस्यीय उच्चस्तरीय समितिले छानबिन प्रतिवेदन बुझाइसकेको र हाल उक्त प्रतिवेदनको अध्ययन भइरहेकाले समितिको सुझावलाई यथाशीघ्र कार्यान्वयन गरिने बताए।

त्रिविले जनशक्ति व्यवस्थापन तथा दरबन्दी पुनरावलोकनबारे पनि अध्ययन भइरहेको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान जनशक्ति व्यवस्थापन र दरबन्दीको अवस्था अध्ययन गरी त्रिवि सेवा आयोगमार्फत यथाशक्य विज्ञापन गराई शिक्षक कर्मचारीको पदपूर्ति गर्न प्रा डा नवराज कँडेलको संयोजकत्वमा जनशक्ति तथा दरबन्दी पुनरावलोकन एवं व्यवस्थापन समिति गठन गरी काम अघि बढाइएको छ।’

विज्ञप्तिमा भनिएको छ, ‘पदपूर्तिसँग सम्बन्धित पाठ्यक्रम परिमार्जन गरी सेवा आयोगमार्फत अनुसन्धानको क्षेत्रमा उल्लेखनीय कार्य गरेका व्यक्तिलाई ‘फस्टट्रयाक’बाट प्राध्यापकमा नियुक्त गर्ने गृहकार्य भइरहेको छ।’

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.