काठमाडौं-
कुवेतमा घरेलु कामदारका रूपमा गएकी एक महिला बिचल्लीमा परेकी छन् ।
रुपन्देहीको कञ्चन गाउँपालिका–१ सुन्दरनगरकी लक्ष्मीकुमारी दमाईले आफूलाई एजेन्टले कुवेत ल्याएर बिक्री गरेको भन्दै उद्धारको अपिल गरेकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै उनले आफूलाई कुवेतको चालिया भन्ने ठाउँमा ओमबहादुर नाम गरेका एजेन्टले ल्याएर बिक्री गरेको बताएकी छन् । आफू बिरामी भएको र नेपाल फर्काउन आग्रह गर्दा एजेन्टले नसुनेको उनले बताएकी छन् । ‘घर मालिकलाई घर पठाइदेऊ, म यहाँ काम गर्न सक्दिनँ भन्दा मैले तिमीलाई किनेर ल्याएको र पैसा दिए मात्र घर पठाउँछु भन्ने जवाफ दिइयो,’ उनले भनिन् ।
मोरङकी एक महिलालाई पनि एजेन्टले कुवेत पु¥याएर बिक्री गरेको भन्दै उनका श्रीमान् सन्तोषले उद्धार गर्न हारगुहार गरिरहेका छन् । श्रीमतीले सातवटा घर परिवर्तन गरिसक्दा पनि भनेनुसारको काम नपाएपछि समस्यामा परेको सन्तोषले बताए । अहिले श्रीमतीको उद्धार गर्न उनी एजेन्टसँग रोइकराई गरिरहेका छन् ।
अवैध बाटो हुँदै कुवेत आएर समस्यामा परेका दर्जनभन्दा बढी नेपाली महिलाहरु यहाँ रहेको चितवन समाज कुबेतका निबर्तमान अध्यक्ष नबिन लोप्चनले बताए । आउने बेला हतार गर्ने र आए पछि पछुताउनु पर्ने भएकोले नेपालमा नै बैध बाटो भएर श्रम गरेर आउन उनले सबैलाई अनुरोध गरेका छन् ।