गण्डकी-
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् ।
गण्डकी प्रदेशसभाको आईतबारको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि गरेको प्रस्ताव बहुमतले पारित भएको गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले घोषणा गरेका हुन्।
बैठकमा मुख्यमन्त्री अधिकारीले गरेको विश्वासको मतको प्रस्तावमा ३० मत परेको छ भने विपक्षमा २७ र तटस्थ दुई मत रहेको छ । विश्वासको पक्षमा नेकपा एमालेका २२, नेकपा माओवादीका सात र स्वतन्त्र प्रदेशसभा सदस्य एक जनाले मत दिएका छन्। विपक्षमा नेपाली कांग्रेसका २७ जना प्रदेशसभा सदस्यले मत दिएका छन्।
मत विभाजनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईजना सदस्य तटस्थ बसे। सर्वोच्च अदालतको आदेशलाई आधार मान्दै ३० मतलाई बहुमत घोषणा गरेपछि नेपाली कांग्रेसका सदस्यले बैठकस्थलमा नै नाराबाजी गरेका थिए । यसअघि बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको प्रस्तावमा दलका नेताहरूले आ–आफ्ना धारणा राखेका थिए।
बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखलाई कुनै दल विशेषको पक्षधरता नलिन आग्रह गरे। सभामुखले आफ्नो निर्णय गर्दा संविधानमा लेखिएको कुरा ख्याल गर्न उनको आग्रह थियो ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेशसभा विघटनबाट जोगाउने जिम्मा सभामुखको हुने बताउँदै रेफ्रीको भूमिका निर्वाह गर्न आग्रह गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता पञ्चराम गुरुङले नागरिकको चाहाना विपरीत केन्द्रदेखि प्रदेशसम्म बनेको यो गठबन्धन पवित्र नभएको र मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नसकिने धारणा राखे।