चितवन-
चितवनको कालिका नगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमलाई संवोधनगर्दै नगर प्रमुख विनोद रेग्मीले राम्रो कामलाई ओझेलमा पार्ने काम कसैले पनि गर्न नहुने बताएका छन् ।
कार्यालयको निर्माणाधिन भवनलाई छिटो सम्पन्नगर्न ठेकेदारलाई ताकेता गरिरहेपनि कानुनी कार्यविधिले समस्या परेको उनको भनाईछ । आफ्नै भवनहुँदाहँदै भाडामा किन बसेको भन्ने सहभागिहरुको प्रश्नमा नगरप्रमुख रेग्मीले ९५ प्रतिशत निर्माणकार्य सकिएको भवनमा अर्को चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरिने आश्वासन दिनुभयो ।
यसैगरी नगरपालिकाले नगरक्षेत्रभित्रका बजारहरुमा निरन्तर अनुगमन गर्ने समेत नगरप्रमुख रेग्मीले बताउनुभयो । बजार व्यवस्थापन समितिसँग समन्वय गरेर बजार अनुगमन हुने उनले बताए । नागरिकको मन दुखाउनेगरी जनप्रतिनिधिहरुले काम नगर्ने समेत उनले स्पष्ट पारे । नगरपालिकाले बजार अनुगमनदेखि स्थानीय तहमा बनेको ऐन, नीति नियम र कार्यविधिहरु कार्यान्वयनका लागि नगरप्रहरी भर्नाको प्रकृयामा रहेको समेत उनले जानकारी दिए ।
नगरप्रमुख रेग्मीले सानातिना समस्यालाई लिएर गलत प्रचारगर्नेहरु सक्रिय भएको उनले बताए । पूर्वाधार निर्माणदेखि नगरक्षेत्रभित्रदेखिएका समस्याको विषयमा जनप्रतिनिधिहरुको अधिकारले दिए सम्म संवोधनगर्दै आएको भएपनि सानातिना समस्यालाई गलत तरिकाले प्रचारहुन थालेको जनाए। नगर प्रमुख रेग्मीले राम्रो कामलाई ओझेलमा पार्ने चलखेल भइरहेको बताएका हुन् । विकास निमार्णको कामदेखि पशुपालन, कृषि, खानेपानी व्यवस्थापन, अनुदान वितरण लगायतका विषयमा पारदर्शी रुपमा कामहरु भइरहेको उनको दावी छ ।
कार्यक्रममा नगर अस्पतालमा एमडी गरेका चिकित्सकहरुवाट स्वास्थ्य सेवादिने तयारी भइरहेको नगरप्रमुख रेग्मीेले जानकारी दिए । करौडौं रुपैयाँको लगानीमा जुटपानी खानेपानी आयोजना निर्माणहुँदैछ भन्दै उनले पदमपुर खानेपानी प्राविधिक कारणले समिति नबनेको भएपनि आवश्यक कामहरु भइरहेको नगर प्रमुख रेग्मीले जानकारी दिए ।
दोश्रो सार्वजनिक सुनुवाईमा चौमासिक अवधिमा कालिका नगरपालिकाले सम्पादन गरेको विषयलाई प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले प्रस्तुत गरेका थिए। नगरपालिकाद्धारा आर्थिक वर्ष २०८०/८१ को फागुन २८ गते सम्म सम्पादन गरिएको कामलाई स्वच्छ पारदर्शी र बस्तुनिष्ठा बनाउने काम भएको प्रमुख प्रशासकी अधिकृत शर्मा गौतमले बताए ।