देवचुली-
काव्यमार्फत् प्रकृति संरक्षणको मुद्धालाई बुलन्द पार्न २०७५ सालमा सुरु भएको घडियाल काव्य उत्सवको तेस्रो संस्करण माघ अन्तिम साता हुने भएको छ । पूर्वी नवलपरासीको देवचुलीमा रहेको आभानी मिडियाद्वारा संचालित १०३.८ ह्याप्पी एफएमले घडियाल काव्य उत्सवको तेस्रो संस्करण आयोजना गर्न लागेको हो । नेपालकै पर्यटकीय गन्तव्यको रुपमा परिचित देवचुलीमा रहेको शाश्वतधाम परिसरमा यहि माघ २८ र २९ गते आयोजना गरिने घडियाल काव्य उत्सवमा लोपोन्मुख घडियाल गोही र प्रकृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ ।
तेस्रो संस्करणका लागि संरक्षण शिक्षा, वातावरण संरक्षण, दिगो पर्यापर्यटन, जैविक विविधता, चरा–नदी पर्यटन, प्राकृतिक र साहित्यका विषयमा विभिन्न वक्ताहरुसँग प्यानल छलफल समेत गरिने कार्यक्रम संयोजक एवम् ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराए ।
विसं २०७५ सालमा घडियाल काव्य उत्सवको पहिलो संस्करण आयोजना गरेको एफएमले विषयवस्तु र मुद्धालाई परिस्कृत र परिमार्जित गर्दै निरन्तरता दिन लागेको कडरियाले बताए । उनका अनुसार काव्य उत्सवमा ञनवलपुरमा पर्यटन – हिजो, आज र भोलि, पृथ्वीका अन्तिम डायनासोर , घडियालझ, अबको विकास , मनस्थिति र परिस्थिति, आँगनीमा लिट्–नेचर, प्रकृति, पर्यटन र साहित्य, मौलाकालिकादेखि त्रिवेणी सानो जिल्लाको विराटता, सिने पर्यटन नवलपरासीदेखि नवलपुरसम्म, गोलमेच पालिका बहस सँगै मध्यनेपालका साहित्यकारहरुको काव्य वाचन कार्यक्रम रहेका छन् ।
प्रकृति संरक्षणको मुख्य सन्देश बहस तथा काव्य वाचनबाट दिँदै नेपाली साहित्यको सम्बर्द्धनमा टेवा पुर्याउने उद्धेश्यले उत्सवमा काव्य वाचन कार्यक्रमलाई समेत जोडिएको ह्याप्पी एफएमका स्टेशन म्यानेजर आदर्श सुशीलले बताए । साथै उनले एफएमले ह्याप्पी प्रकृति संरक्षण पत्रकारिता पुरस्कार २०८० को सुरुवात गरेको बताउँदै नवलपुर जिल्लामा रही प्रकृति संरक्षणका विषयमा कलम चलाउने एकजना पत्रकारलाई पुरस्कार वितरण गर्ने बताए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुली, पत्रकार विद्रोही गिरीले लोपोन्मुख घडियाल संरक्षणका लागि मात्रै नभई नवलपुरको पर्यापर्यटनलाई उकास्नको निम्ति एफएमले आयोजना गरेको काव्य उत्सवले संरक्षणमा सकारात्मक सन्देश दिने बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
ह्याप्पी एफएमले दुर्लभ एवं अति संकटापन्न जीव घडियाल गोहीको संरक्षण तथा प्रकृति, जैविक विविधता एवं पर्यावरण शिक्षाका लागि वि।सं। २०७५ सालबाट घडियाल काव्य उत्सव सञ्चालन गर्दै आइरहेको छ ।