सोलुखुम्बु-
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निस्शुल्क उपलब्ध गराएका छन्। उनले वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन्।
इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको वडासदस्य भलाकाजी कार्कीले जानकारी दिए। उनले भने, ‘जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो। साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि सवारी साधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाइ सेवा उपयोगी छ।’
उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पा बताउँछन्।
इन्टरनेट सेवा निशुल्क पाएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन्।