गगन थापा विरुद्ध अदालतमा निवेदन दर्ता
१४ वैशाख, चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता अनन्तराज लुईंटेल लगायतले थापालाई अवहेलनामा कारबाही हुनुपर्ने माग राखी निवेदन दर्ता गरेको, सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिनु भयो । उक्त निवेदन माथि आगामी मंगलबार प्रारम्भिक सुनुवाइको मिति तोकिएको छ । केही दिनअघि कांग्रेस महामन्त्री थापाले ' ५२ संवैधानिक पदाधिकारीहरुको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भनी अभिव्यक्ति दिएका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला त्यसलाई प्रभावित पार्न अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित निवेदन दर्ता भएको हो ।