आज गणतन्त्र दिवस, काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाइदै
काठमाडौं आज १७औं गणतन्त्र दिवस हो । आज नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा राष्ट्रिय दिवसको रुपमा मनाइँदैछ। संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो। यही ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ। गणतन्त्र दिवसको अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरिंदै छ। काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले विशेष समारोह आयोजना गर्नेछ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनेछन्। दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिले शुभकामना दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गरेका छन्।…