एजेन्सी
–
गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको ज्यान गएको छ ।
अनुसन्धानकर्ताहरूले गएको जुनदेखि अगस्टसम्म युरोपका ८५४ शहरमा गरेको अध्ययनअनुसार जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित घटनाका कारण ३२ हजार ६१९ जनाको ज्यान गएको छ ।
युरोपको झन्डै ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटिएकाले ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका समाचार संस्था एपीले जनाएको छ ।
इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बार्न्सकाका अनुसार जीवाश्म इन्धन जलाउँदा बढेको तापक्रमले सामान्यतः असहज हुने गर्मीलाई खतरनाक र ज्यानै लिन सक्ने अवस्थामा पुर्याएको छ ।
युरोपको तापक्रम औद्योगिक युगअघिको तुलनामा २.५ डिग्री सेल्सियस बढिसकेको छ । यस गर्मीयाममा केही शहरको तापक्रम सामान्यभन्दा १२ डिग्री सेल्सियससम्म धेरै पुगेको थियो ।
गर्मीका कारण सबैभन्दा धेरै इटाली, फ्रान्स, स्पेन र जर्मनीका मानिसले ज्यान गुमाएका खबरमा उल्लेख छ ।
ज्यान गुमाउनेमध्ये आधाभन्दा धेरै ८५ वर्ष वा त्योभन्दा धेरै उमेरका थिए । तर २० देखि ४४ वर्ष उमेर समूहका ८०० भन्दा धेरै व्यक्तिको रहेको जनाईएको छ ।