काठमाण्डौ-
मौसम पूर्वानुमान महाशाखा अनुसार आउँदो हप्ता नेपालको मौसम प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते चक्रवात आँधीमा विकसित भई भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसा आसपासको तटबाट जमिनमा प्रवेश गर्न सक्ने सम्भावना रहेको छ ।
कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालमा मौसम बदली तथा वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यद्यपि, नेपालमा कति वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र यसले कस्तो असर पार्न सक्छ भन्नेबारे अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार मौसमसम्बन्धी मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणका आधारमा यस प्रणालीको विकास क्रमबारे निगरानी भइरहेको छ । प्रणालीको अवस्था र सम्भावित प्रभावबारे थप जानकारी प्राप्त भएपछि आवश्यकताअनुसार सूचना अद्यावधिक गरिने पनि महाशाखाले जनाएको छ ।