काठमाडौ-
दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएसँगै काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा टिकट काट्ने सर्वसाधारणको भीड लागेको छ।
काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुले अग्रिम टिकट लिन थालेपछि नयाँ बसपार्कमा चहलपहल बढेको हो।
पर्वका बेला घर जाने यात्रुको चाप बढ्ने भएकाले अन्तिम समयमा टिकट नपाइने समस्या हुन सक्ने भन्दै यात्रुहरू अग्रिम टिकट लिन थालेका हुन्। काठमाडौँबाट पूर्वी तथा पश्चिम नेपालका विभिन्न जिल्लामा जाने यात्रुको चाप बढेसँगै यातायात व्यवसायीलाई पनि यात्रु व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।
अग्रिम टिकट बुकिङले यात्रुलाई आफ्नो यात्राको मिति र समय निश्चित गर्न सहयोग पुग्नेछ। यद्यपि, यात्रुको चापअनुसार पर्याप्त सवारीसाधनको व्यवस्था, टिकटमा तोकिएको भाडा कार्यान्वयन र यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाउनुपर्ने आवश्यकता छ ।