काठमाण्डौ –
प्रभु बैंकमा नेतृत्वको संकट थप गहिरिएको छ।
प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालाई पर्सा जिल्ला अदालतले दुई लाख रुपैयाँ धरौटीमा तारेखमा बसेर मुद्दा लड्न पाउने आदेश दिएकै दिन उनका पूर्ववर्ती अशोक शेरचनलाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
एउटै दिन आएका दुई न्यायिक आदेशले बैंकको वर्तमान र पूर्वकार्यकारी नेतृत्व दुवैलाई गम्भीर कानुनी प्रश्नको घेरामा उभ्याएका छन्।खराब कर्जा र वित्तीय सुधारको चुनौतीसँग जुधिरहेको बैंकका लागि नेतृत्वमाथिको यो संकट अर्को दबाब बनेको छ। कर्जा असुली, जोखिम नियन्त्रण र संस्थागत विश्वास बलियो बनाउनुपर्ने समयमा बैंक हाँकिरहेका र यसअघि हाँकेका दुवै व्यक्तिले फौजदारी मुद्दाको सामना गर्नुपरेको छ।
मंगलबारको घटनाक्रमले प्रभु बैंकमा ‘संकटमाथि संकट’ थपिएको चित्र प्रस्तुत गरेको छ। शर्माले तत्काल थुनाबाहिर रहेर मुद्दा लड्न पाउने सुविधा पाए पनि उनीमाथिको अभियोग टुंगिएको छैन।
शेरचनको हकमा भने अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएको छ।