काठमाण्डौ –
आजदेखि मलेसियामा तेस्रो संस्करणको एसिसी प्रिमियर कप शुरु हुँदैछ ।
प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा रहेको छ ।
नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् ।
समूह ‘बी’ मा युएई, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।
खेल मलेसियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुनेछ । ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ ।