आज मितिः २०८३ श्रावण २९ गते

रोल्पा थवाङको पहिरोमा परी १० जनाको मृत्यु, तीन जना अझै बेपत्ता

रोल्पा-

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। पहिरोले घर तथा गोठ पुरिँदा उनीहरूको मृत्यु भएको हो।

पहिरोमा परी घाइते भएका दुई जनालाई उपचारका लागि बुटवल पठाइएको छ भने बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको छ।

पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ की १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।

बेपत्ता भएका अन्य पाँच जनाको शव भने प्युठानमा फेला परेको हो। फेला परेका शवमध्ये थबाङ गाउँपालिका–५ कोटलबाराका कुमार पुन मगरका ७ वर्षीय छोरा अशोक पुन मगर, सोही ठाउँका ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षीया विष्णु पुन भनिने जुनकुमारी पुन मगर र ८० वर्षीय बलबहादुर पुन मगर रहेका छन्।

यसैगरी थबाङ गाउँपालिका–५ का २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बुटवल पठाइएको छ।

पहिरोमा परी ९ वर्षीय अशिम पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर र ७२ वर्षीय लिलबहादुर पुन मगर अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.