काठमाडौं –
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारिता क्षेत्र आन्दोलित भएको छ।
ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट बुधबार साँझ पक्राउ परेका श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ। जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर उनलाई पक्राउ गरिएको हो।
श्रेष्ठको पक्राउको विरोधमा पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मीहरू काठमाडौं प्रहरी परिसर पुगेका थिए। उनीहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गरे।
पत्रकारहरूले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्। उनीहरूले समाचारमा चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न सकिने भन्दै पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने बताएका छन्।
पत्रकारिता क्षेत्रले समाचारको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्ने शैलीले प्रेसमाथि डर र दबाबको वातावरण सिर्जना गर्न सक्ने भन्दै आपत्ति जनाएको छ। पत्रकारहरूले श्रेष्ठलाई तत्काल रिहा गरी समाचार प्रकाशनका विषयमा कानुनी प्रक्रिया भए त्यसलाई कानुनसम्मत ढंगले अघि बढाउन माग गरेका छन्।