आज मितिः २०८३ श्रावण २७ गते

बाढी, पहिरो तथा सडक कटानका कारण प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं-


बाढी, पहिरो तथा सडक कटानका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीका अनुसार बुधबार बिहान ७ बजेसम्म विभिन्न स्थानमा सडक पूर्ण रूपमा बन्द रहेका छन्।

काभ्रेपलाञ्चोक–सिन्धुलीको
खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली जोड्ने विपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण सवारी साधनको आवतजावतमा रोक लगाइएको छ।
त्यस्तै मकवानपुरको कान्ति लोकपथमा रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो र सडक भासिएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–४ चारकिलोमा असार ३१ गते सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । त्यस्तै, भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा साउन १ गते इँकु पहिरोबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ ।
इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकमा सवारी साधन चल्न नसक्ने अवस्था रहे पनि उक्त स्थानमा वैकल्पिक मार्ग रहेको जनाइएको छ।

यता रसुवामा उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने कच्ची सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि साउन ८ गतेदेखि सडक बन्द भएको हो।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। साउन ६ गते सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि सडकमा सवारी आवागमन बन्द भएको प्रहरीले जनाएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.