रामु आचार्य ।
२२ जेठ, रत्ननगर — शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ले आजदेखि १० दिने दुग्धजन्य वस्तु उत्पादन तथा व्यवस्थापन तालिम सुरु गरेको छ। तालिम असार २ गतेसम्म सञ्चालन हुने छ।तालिमको औपचारिक शुभारम्भ एक विशेष कार्यक्रमका बीच गरिएको हो। कार्यक्रमको सभाध्यक्ष संस्थाकी अध्यक्ष निर्मला दंगाल रहनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा रहनुभएको थियो। उहाँले शान्तिकुञ्ज सहकारीले सामान्य महिला दिदीबहिनीहरूलाई उद्यमी बनाउन महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो। उहाँले नगरपालिकाको आगामी बजेटबाट शान्तिकुञ्जले उत्पादन गरिरहेको कुल्फी लगायतका सामग्री बिक्री वितरणका लागि आईससहितको उच्च प्रविधियुक्त रिक्सा उपलब्ध गराइने बताउँदै सहकारीलाई स्थान अभाव भएको महसुस गर्दै नगरपालिका मातहतका जग्गा महिला उद्यमीहरूलाई उपलब्ध गराउने समेत आश्वासन दिनुभयो।
त्यस्तै विशिष्ट अतिथि उपमेयर यादव प्रसाद पाठकले तालिम प्रभावकारी हुनुपर्नेमा जोड दिँदै सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै अरुलाई समेत सिकाउन आग्रह गर्नुभयो। कार्यक्रममा वडा नं. १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, वडा नं. ७ का वडाध्यक्ष सजना महतो, शान्तिकुञ्जको संस्थापक अध्यक्ष पार्वती न्यौपाने, सल्लाहकार रघुनाथ भट्ट तथा सेवा नेपालकी विष्णु कुमारी नेपाल लगायत सहभागी हुनुहुन्थ्यो। तालिममा ३० जना महिलाहरूको सहभागिता रहेको छ। संस्थाकी अध्यक्ष निर्मला दंगालले सहकार्य र समन्वयमार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताउनुभयो।
कार्यक्रमका अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूले शान्तिकुञ्ज सहकारीले उत्पादन गर्दै आएका दुग्धजन्य परिकारहरूको अवलोकनसमेत गरेका थिए। शान्तिकुञ्ज सहकारीले हाल ब्राण्डिङ गरेर कुल्फी, मोही, दही, नौनी, खुवा, दूध तथा पनिर लगायतका दुग्धजन्य परिकारहरू बजारमा उपलब्ध गराउँदै आएको छ। ती उत्पादनहरू उपभोक्तामाझ अत्यन्त लोकप्रिय रहेको अध्यक्ष दंगालले जानकारी दिनुभयो।
