काठमाण्डौ-
सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताएका छन् ।
मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव अन्त्य हुँदै गएको उनले बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकारले काम गरिरहेको बताए।
विकास निर्माणका काममा कुनै क्षेत्र वा समुदायलाई विभेद नगरिएको उल्लेख गर्दै उनले विकासमा सबैको समान पहुँच सुनिश्चित गर्ने प्रणाली निर्माणमा सरकार केन्द्रित रहेको बताए।
शक्ति, पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँट गर्ने विगतको गलत अभ्यास अन्त्य भएको बताउनुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले आम निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको बताए। उनले सरकार र सत्तारुढ दलले नागरिकका आकांक्षा, गुनासा र अपेक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गरे।
सञ्चारमन्त्री तिमिल्सिनाले सरकारलाई अझ प्रभावकारी बनाउन सबै पक्षको रचनात्मक सहयोग आवश्यक रहेको बताउँदै सत्तारुढ दलको जिल्ला अधिवेशनमा आग्रह–पूर्वाग्रह त्यागेर सहकार्यको वातावरण बनाउन आग्रह गरे।