काठमाडौँ –
नागार्जुनस्थित ठूलागाउँ माध्यमिक विद्यालयलाई नमुना कक्षा सञ्चालनका लागि शैक्षिक एवं प्राविधिक सामग्री हस्तान्तरण गरिएको छ । छ। बुधकार मञ्चद्वारा अघि सारिएको ‘प्रोजेक्ट जिरो इन्भेष्टमेन्ट’ अवधारणा सहित कक्षा ७ का विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक तथा डिजिटल सामग्रीहरू हस्तान्तरण गरिएको हो।
कार्यक्रममा आइसिटी पत्रकार विकास मञ्चका अध्यक्ष पुस्कर राज पाण्डेको अध्यक्षतामा तथा नेपाली चलचित्रका महानायक राजेश हमालको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि महानायक राजेश हमालले शिक्षा संसार बदल्ने सबैभन्दा शक्तिशाली हतियार भएको बताउनुभयो। उहाँले भन्नुभयो, “परम्परागत शिक्षालाई प्रविधिसँग जोड्न सके मात्र हाम्रा बालबालिकाहरू अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी हुन सक्छन्। ‘प्रोजेक्ट जिरो इन्भेष्टमेन्ट’ मार्फत सरकारी विद्यालयका विद्यार्थीले प्रविधि सिक्न पाउनु ऐतिहासिक सुरुवात भएको उहाँले बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि तथा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले शिक्षा क्षेत्रको विकासका लागि नीतिगत तहबाट गर्नुपर्ने सम्पूर्ण सहयोगका लागि आफू प्रतिबद्ध रहेको र यस्ता उदाहरणीय कार्यले सामुदायिक विद्यालयको स्तर उकास्ने विश्वास व्यक्त गर्नुभयो। तारकेश्वरलाई शिक्षा र समृद्धिको नमूना नगर बनाउन अहोरात्र खटिरहेको उल्लेख गर्दै स्थानीय सरकारको तर्फबाट पूर्ण ऐक्यबद्धता र आगामी दिनमा पनि यस्ता प्रविधिमैत्री अभियानलाई नगरले प्रोत्साहन गर्ने बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक अर्जुन फुयाँल र सह(प्रधानाध्यापक शिव प्रसाद फुयाँलले शून्यबाट सुरु गरेर सङ्घर्ष गर्दै विद्यालयलाई यो भव्य अवस्थासम्म ल्याइपुर्याएको स्मरण गर्दै विद्यार्थीहरुलाई आवश्यक सबै सामाग्री उपलब्ध गराएकोमा आयोजक र दाताहरू प्रति हार्दिक आभार प्रकट गर्नुभयो।
त्यस्तै प्रमुख दाता एवं समाजसेवी तथा व्यवसायी गणेश रायले आइसिटी पत्रकार विकास मञ्च र ‘प्रोजेक्ट जिरो इन्भेष्टमेन्ट’ को उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । उहाँले बालबालिकाको उज्यालो भविष्यका लागि सामूहिक लगानी र प्रविधिको आवश्यकता अपरिहार्य रहेको बताउनुभयो।
आइसिटी पत्रकार विकास मञ्चका उपाध्यक्ष कृष्णा राज तिमिल्सिनाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको बारेमा जानकारी गराउनु भयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, टोखा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले पनि शिक्षाको क्षेत्रबाट शैक्षिक रूपान्तरणमा ऐक्यबद्धता जनाउनुभयो। त्यस्तै कार्यक्रममा बालाजु प्रहरी वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक ९डिएसपी० एमलाल बन्जाडे, तारकेश्वर होटल एसोसिएसनका अध्यक्ष राजु फुयाँल, तङ्कदाका सञ्चालक योगेन्द्र महतो तथा स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई कुशल पत्रकार सावित्रि बस्नेतले सहजीकरण गर्नुभएको थियो ।