चितवन-
श्रमजीवी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन चितवन शाखाले असहाय आमा–बुबालाई भोजन सेवा गरेर दिवस मनाएको छ ।
भरतपुर ९ मा रहेको चितवन मानव सेवा आश्रम मा आश्रित ४५ जना भन्दा बढी सहयोगापेक्षी आमा–बुबालाई भोजन सेवा दिदै चितवन शाखाले स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकालले नेपाल प्रेस युनियनको इतिहास तथा श्रमजीवी पत्रकारहरुको हकहितका लागि संस्थाले गर्दै आएको योगदानबारे चर्चा गर्नु भयो । साथै उहाँले दिवसको अवसरमा सम्पुर्ण श्रमजिवी पत्रकारहरुलाई शुभकामना समेत व्यक्त गर्नुभयो ।
त्यसैगरी चितवन मानव सेवा आश्रमका कार्यवाहक अध्यक्ष बिनोद ढकालले सामाजिक कार्य मार्फत स्थापना दिवस मनाएकोमा प्रेस युनियनलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा प्रेस युनियन चितवन शाखाका उपाध्यक्ष सिन्धु ढकाल, बागमती प्रदेश महासचिव पुर्ण शर्मा, चितवन शाखाका सल्लाहकार सुर्य अधिकारी, सदस्य सुदन पौडेल, सुरेन पौडेल लगायतको सहभागिता रहेको थियो । नेपाल प्रेस युनियन चितवन शाखाले हरेक वर्ष स्थापना दिवसको अवसरमा विभिन्न परोपकारी तथा सामाजिक कार्य गर्दै आएको छ ।