आज मितिः २०८३ बैशाख ५ गते

सहसचिवको घुस खाने शैली – रिसोर्टका कर्मचारीको नाममा चेक, अन्य व्यक्तिको नाममा जग्गा

काठमाण्डौ-

राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीले ७० लाख घुस लिएको प्रमाण अख्तियारले फेला पारेको छ । विभागको महानिर्देशक रहेका वेला उनले राजस्व छलीसम्बन्धी उजुरीको अनुसन्धान मिलाइदिने भन्दै घुस लिएको दाबीसहित आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उनले अन्य व्यक्तिको नाममा घुस लिनेदेखि जग्गा खरिदसम्म गरेका थिए।

उनले एचके इन्टरप्राइजेजका मालिक श्रीकृष्ण श्रेष्ठसँग घुस लिएका हुन्। सो रकम सिधै लिएनन्, पोखराको कुटी रिसोर्टका कर्मचारीको नाममा चेक काट्न लगाए। सो रिसोर्टका मालिक देवेन्द्र केसी उनका निकटका व्यक्ति हुन्। सोही कारण त्यसरी उनले रिसोर्टका कर्मचारीको नाममा चेक लिएका हुन्। सो रकममध्ये २० लाख रसोर्टको ऋण तिर्नमा प्रयोग भएको थियो ।

बाँकी ५० लाख रुपैयाँमा भक्तपुरको दिव्यश्वरी आयोजनामा पाँचआना जग्गा खरिद गरे। सो जग्गा उनले नेपालगन्जका रवीन्द्र लामिछानेको नाममा खरिद गरेको आयोगले जनाएको छ। प्रमाण लुकाउन उनले अनेक प्रयास गरे पनि अन्ततः भ्रष्टाचार मुद्दामा तानिएका छन्।

यसरी घुसको रकम शुद्धीकरणको प्रयास गरेकाले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुर पनि चलेको छ। उनीसहित देवेन्द्र केसी र रवीन्द्र लामिछानेविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ।

हाल बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालयमा कार्यरत सहसचिव अधिकारी विगतमा सुन तस्करीदेखि भिजिट भिसा प्रकरणमा पनि मुछिएका थिए।
नयाँ पत्रिकाबाट

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.