काठमाडौं-
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन्। ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ। विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते भएका छन्।
विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ। प्राधिकरणको विवरणअनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन्। तीन हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ।
यो अवधिमा बाढीका तीन सय १८, पहिरो पाँच सय ९०, भारी वर्षा चार सय २९, चट्याङ तीन सय ६७, सर्पदंश पाँच सय ९२, डढेलो दुई सय ४६ वटा घटना भएका छन्। त्यस्तै, हावाहुरीका दुई सय ९२, जनावर आक्रमण चार सय ८८, लेक लागेका एक सय १९ घटना भए। हिमपहिरोका पाँच, भूकम्प सात, डुङ्गा पल्टेर दुईवटा घटना घटेका छन्। त्यसैगरी, फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म कुल २९ विपद्का घटना भएका प्राधिकरणले जनाएको छ।