आज मितिः २०८२ असार २५ गते

पहिलोपटक बेंग्लोर आइपिएल च्याम्पियन

काठमाण्डौं-

 

रोयल्स च्यालेन्जर्स बेंग्लोर पहिलोपटक इन्डियन प्रिमियर लिग (आइपिएल)को च्याम्पियन बनेको छ । अहमेदाबाद रंगशालामा मंगलबार १८औँ संस्करणको उपाधि भिडन्तमा पन्जाब किंग्समाथि ६ रनको रोमाञ्चक जित निकाली बेंग्लोर पहिलोपटक च्याम्पियन बनेको हो । बेंग्लोरका पूर्वकप्तान विराट कोहलीले चौथोपटक फाइनलमा ट्रफी उचाल्न सफल भए । पहिलो ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ९० रनको योगफल बनाएको थियो ।

प्रत्युत्तरमा पन्जाबले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८४ रन जोड्दा बेंग्लोरले बाजी मारेको हो । अन्तिम ओभरमा पन्जाबलाई उपाधि जित्न २९ रनको आवश्यकता थियो । बेंग्लोरबाट जोस हेजलउडले बलिङ गरेका थिए । शशांक सिंहले अन्तिम ओभरमा २२ रन बटुले पनि पन्जाबलाई उपाधि दिलाउन सकेनन् । शशांकले ३० बलमा ६ छक्का र तीन चौका प्रहार गरी सर्वाधिक ६१ रनको योगदान दिए । पन्जाबको ब्याटिङमा जोस इन्गिसले २३ बलमा ३९ रन बनाए ।

बेंग्लोरले नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा पहिलो ब्याटिङ गरी पन्जाबलाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो । इनिङ्सको दोस्रो ओभरमै बेंग्लोरले ओपनर फिल साल्टलाई गुमाएको थियो । दोस्रोदेखि पाँचौँ विकेटसम्म दरिलो साझेदारी पाउँदा बेंग्लोरको रनरेट उकासिएको थियो । बेंग्लोरका लागि विराट कोहलीले मायांक अग्रवालबिच दोस्रो विकेटका लागि २८ बलमा ३८ रनको साझेदारी गरे ।

कोहलीले कप्तान रजत पतिदारसँग तेस्रो विकेट निमित्त २७ बलमा ४० रनको साझेदारी गरे । कोहलीले चौथो विकेटका लागि लिआम लिभिन्स्टोनसँग २४ बलमा ३५ रनको साझेदारी गर्न सफल भए । इनिङ्सको १४।५ ओभरमा कोहलीले आफ्नो विकेट गुमाए । त्यसपछि लिआमले जितेश शर्मासँग पाँचौँ विकेटका लागि १२ बलमा ३६ रनको साझेदारी गरे । चौथोपटक फाइनल खेलिरहेका कोहलीले धैर्यतापूर्वक ब्याटिङ गरी साझेदारी ‘विल्डअप’मा सहयोग गरेका थिए । बेंग्लोरको ब्याटिङमा कोहलीले नै सर्वाधिक योगदान दिएका थिए ।

बलिङमा अर्सदीपले अन्तिम ओभरमा तीन विकेट लिँदै बेंग्लोरलाई रोकेका थिए । उनले ४० रन खर्चेर तीन विकेट हात पारे । यसैगरी, केल जेमिसनले ४८ रन खर्चेर तीन विकेट हात पारे । यसअघि बेंग्लोरका लागि कोहलीले ३५ बलमा तीन चौका प्रहार गरी ४३ रन बनाए । मायांकले १८ बलमा दुई चौका र एक छक्का प्रहार गरी २४ रन बनाए । कप्तान रजतले १६ बलमा दुई छक्का र एक चौका प्रहार गरी २६ रन जोडे । लिआमले १५ बलमा २५ रन तथा जितेशले १० बलमा समान दुई चौका र छक्का प्रहार गरी २४ रनको योगदान दिए । रोमारियो सेफर्डले नौ बलमा १७ रन जोडे ।

विजेतालाई २० करोड भारु
१८औँ संस्करणको आइपिएलको विजेता बेंग्लोरले २० करोड भारु पाएको छ । उपविजेता पन्जाबले १२।५ करोड भारु पायो । दोस्रो प्लेअफबाट बाहिरिएको पाँचपटकको विजेता मुम्बई इन्डियन्सले सात करोड भारु र एलिमिनेटरबाट बाहिरिएको गुजरात टाइटन्सले ६।५ करोड भारु पाएको छ । सन् २०२२ देखि अहिलेसम्म आइपिएलको पुरस्कार राशिलाई यथावत् राखिएको छ । आयोजक भारतीय क्रिकेट बोर्डले तीन वर्षदेखि आइपिएलको विजेता धनराशि वृद्धि गरेको छैन ।

आइपिएलको पहिलो सिजनको विजेता राजस्थान रोयल्सले ४।८ करोड भारु पाएको थियो । पहिलो संस्करणको उपविजेता चेन्नई सुपर किंग्सले २।४ करोड भारु प्राप्त गरेको थियो । बिसिसीआईले विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई जनही १० लाख भारु प्रदान गरिएको छ ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.