रत्ननगर-
रत्ननगर नगरपालिका वडा १२ स्थित सुन्दरी चौतारमा महाशिवरात्रीको दिन भव्य मेला लाग्ने भएको छ । फाल्गुन कृष्ण चतुर्दशी तिथि यहि फाल्गुन १४ गतेका दिन मेला लाग्ने सुन्दरी चौतारा संरक्षण समिति परिवारका अध्यक्ष केशव खनालले बताउनु भयो ।
आफ्नो स्वर्गीय बुबा, आमा तथा भाइको आत्माको चीरशान्तिको कामनाको लागि शिवलिङ्ग प्रणप्रतिष्ठान सहित भव्य मेला आयोजना गर्न लागिएको छोरा मलेन्द्र सिलवालले जानकारी दिनु भयो । स्वर्गीय आमा सुन्दरी सिलवालको नाममा वर पिपल रोपिएको आफ्नै जग्गामा चौतारो तयार गरिएको र आमाको नामबाट सुन्दरी चौतारा नामाकरण गरिएको मलेन्द्रले बताउनु भयो ।
चौतारासंगै ठूलो प्रतिक्षलय पनि बनाईएको छ । जहाँ करीव १०० जना बस्न मिल्नेछ ।
छोरा मलेन्द्रले करीव ३ लाखको १ सय ३० किलोको शिवलिङ्ग झीकाई सक्नु भएको छ । सो अवसरमा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले सुन्दरी चौतारको प्राङ्गणमा शिवलिङ्गको अनावरण गर्ने समितिका अध्यक्ष केशब खनालले बताउनु भयो ।
शिवरात्रीको दिन विहान ९ बजे उद्द्धाटन, १० बजे पूजा प्रारम्भ, ४ बजे प्रसाद ग्रहण र रात्री ७ बजेबाट भजन शुरु गरिने मलेन्द्रले बताउनु भयो ।
महा शिवरात्रि हिन्दू धर्ममा विशेष महत्त्व राख्ने एक प्रमुख पर्व हो, जसलाई भगवान शिवको पूजा-अर्चना गरी मनाइन्छ।
यो दिन भगवान शिव र माता पार्वतीको विवाह भएको दिन मानिन्छ। भक्तजन शिवलिंगमा जल, दूध, बेलपत्र, धतूरो आदि चढाएर भगवान शिवलाई प्रसन्न पार्छन्।
रातभर जाग्राम गरी भजन, कीर्तन र ध्यानमा लीन हुने परम्परा छ। यस दिन ब्रत बस्नाले पाप नाश हुने र मोक्ष प्राप्त हुने विश्वास गरिन्छ।