काठमाडौं-
स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ।
यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाउँदैनन्।
मतदानभन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरू हुन्छ। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ।
मंसिर १६ गते आइतबार ३७ जिल्लाका ४४ स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन हुँदैछ। दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिका प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, ३४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो।
तीन पद भने निर्विरोध भइसकेको छ। ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा पनि कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध भएकी छिन्।