बारा, भदौ २६-
मंगलबार राती करिब ८ बजे बाराको निजगढ नगरपालिका–९ भवरा चोकमा श्रीमानको प्रहारबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोरी घाइते भएका छन् ।
बाथरुममा नुहाउन गएकी श्रीमतीलाई बस्नेतले पहिलो प्रहार गरेको र छोरीहरु छुट्टाउन जाँदा छोरीहरुलाई समेत लागेको थियो। उनको आक्रमणबाट १७ वर्षकी जेठी छोरीको हात आधाभन्दा बढी काटेको र कान्छी छोरी १५ वर्षीय जमुना राई समेत प्रहारबाट घाइते भएकी छन्।
राजबिराज–८ घर भई निजगढ–९ बसोबास गर्ने ४५ वर्षीय बिमल बस्नेतले आफ्नै ३५ वर्षीय श्रीमती लक्ष्मी भन्ने सिता राईलाई घरमै रहेको हँसिया प्रहार गरी हत्या गरेका हुन्।
दुवै घाइते छोरीहरुलाई स्थानीय सामुदायिक प्रसुति अस्पतालबाट रिफर गरी वीरगन्ज मेडिकल कलेज पठाइएको सामुदायिक अस्पताल निजगढका डाक्टर सरोज कुमार कुश्वाहाले बताए।
घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले भाग्दै गरेका श्रीमान विमल बस्नेतलाई पक्राउ गरी घटनास्थलबाट हत्यामा प्रयोग भएको हँसियालगायतका सामाग्री बरामद गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिए।
हत्या किन भयो भन्ने बिषयका बारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाइएको छ।